देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सूचना प्रविधिको विकासका लागि पूर्वाधार निर्माणमा जोड

0

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छन् ।

मन्त्री गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउने गरी सूचना प्रविधिको विकास गर्न पनि यसको पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाउनुको विकल्प नरहेको बताए ।

गैर सरकारी संस्था महासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘खुला सरकार: नागरिक साझेदारी’ सम्बन्धी ‘भर्चुअल’ कार्यक्रममा बोल्दै उनले नागरिक साझेदारी मोडलको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न सबै स्थानीय तहमा ‘एकीकृत मोबाईल एप’ संचालनको कामलाई अघि बढाएको बताए ।

‘सबै स्थानीय तहमा नागरिकसँग सम्बन्धित कामलाई प्रभावकारी बनाउन मोबाईल एप सञ्चालनको काम भईरहेको छ,’ मन्त्री गुरुङले भने, ‘यसले सेवा प्रवाहको कामलाई प्रविधिको माध्यमबाट प्रभावकारी ढंगले सञ्चालन गर्न र मुलुकलाई भ्रष्टाचार मुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न योगदान पुर्‍याउने छ ।’

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विकट क्षेत्रमा रहेका नागरिकहरुलाई सूचना प्रविधिको पहुँचमा पुर्‍याउनका लागि स्थानीय तहको वडासम्मै इन्टरनेटको सहज पहुँच पुर्‍याउने कामलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।

मुलुकको समृद्धिका लागि सरकारले नागरिकसँगको साझेदारीलाई जोड दिइरहेको मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार