देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सूर्यको उपासना गरी मनाइने छठ पर्व सुरु

0

काठमाडौं – प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व आजदेखि सुरु भएको छ । भगवान सूर्यको पूजाअराधना गर्ने यो पर्व निष्ठा एवं पवित्रताका साथ छठ मनाउने गरिन्छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व धार्मिक परम्परा अनुसार हर्षोल्लासका साथ मनाइँदैछ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । विशेष गरेर तराईवासीले कात्तिक शुक्लपक्षमा मनाउने यो पर्व चार दिनसम्म मनाइन्छ । कात्तिक महिनाको चौथीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ ।

पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यो दिनमा व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । यो दिनलाई व्रतालुहरुले आँखा पनि भन्ने गन्ने गर्छन् ।

दोस्रो दिन पञ्चमी तिथिका दिन दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

पर्वको मुख्य दिन षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिइन्छ । यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । यद्यपि यसपालि कोभिड–१९ संक्रमणको जोखिमले धेरैजसो ब्रतालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन् । पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न गरिन्छ । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

पर्व सम्पन्न भएसँगै ब्रतालुले घर फर्केर (घाट जानेहरु) ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् । यससँगै छठपर्वको प्रसाद खाने खुवाउने क्रम शुरु हुन्छ । मिथिलामा छठको प्रसाद इष्टमित्र, छोरीचेली र आफन्तकहाँ पुर्याउने क्रम १०/१५ दिनसम्म चलिरहन्छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, सन्तान सुख हुने र रोगव्याध नलाग्ने जनविश्वास छ । खासमा चर्मरोग सूर्यको उपासनाले निको हुने विश्वास गरिन्छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रशन्न भई व्रतीका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार