देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सोमबार नेप्से दोहोरो अंकले उकालो लाग्यो

0

काठमाडौं – कारोबार हुने साताको दोस्रो दिन सोमबार धितोपत्र बजार दोहोरो अंकले उकालो लागेको छ । बजार परिसूचक नेप्से सोमबार १३ दशमलव ५८ अंकले उकालो लागेर एक हजार ५ सय ७० दशमलव ३८ बिन्दुमा पुगेको छ ।

नेप्सेमा सुधार देखिएपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा २९ करोड रुपैयाँले कमी आएको छ । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार ५ दशमलव ६६ अंकले ओरालो लागेको नेप्समा एक अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्से परिसूचक बढेसँगै यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन जनरल इन्स्योरेन्स, युनियन हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र अपि पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी, यस दिन दिव्यश्वरी हाइड्रोपवारको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने बरुण हाइड्रोपावर, माउन्टेड हाइड्रो र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढी बढेको छ । यस दिन कम्पनीहरुको शेयरमूल्य गिरावट दर भने न्यून रहेको छ ।

कुनै पनि कम्पनीको शेयरमूल्य यस दिन २ प्रतिशतभन्दा बढी घटेको छैन । सोमबार नेप्सेमा कारोबार भएका व्यापार बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ९९ दशमलव ५२ अंकले उकालो लागेको छ ।

यस्तै, जीवन बीमाको ५० दशमलव ५९, जलविद्यतु ४३ दशमलव ८६, विकास बैंक ३० दशमलव ४३ र वित्त कम्पनी समूहको उपसूचक १६ दशमलव २६ अंकले बढेको छ । सोमबार लगानीकर्ताहरु पुन: हाइड्रोपावर कम्पनीहरुतर्फ नै आकर्षित भएको देखिएका छन् । यस दिन सो उपसमूहको परिसूचक सर्वाधिक ३.३१ प्रतिशत बढेको छ ।

नेप्सेमा सोमबार कुल १ सय ८९ कम्पनीका १५ हजार ४ सय ७८ कारोबारबाट ३३ लाख ५३ हजार २ सय १ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ९७ करोड ९० लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार