देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हाम्रा भान्सालाई विषादी रहित बनाऔं : प्रधानमन्त्री ओली

0

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश गरेको बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको काठमाडौंमा शनिबार एक समारोहका बीच शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपालको कृषि आधुनिक क्षेत्रमा प्रवेश गरेको बताएका हुन् ।

यस प्रणाली मार्फत कुन किसानलाई कस्तो सहयोग गर्नुपर्ने सबै थाहा हुने भन्दै प्रधानमन्त्री ओलीले अब सरकारले व्यावसायिक सीप विकासका लागि जिल्ला जिल्लामा तालिम सञ्चालन गर्नुका साथै कृषिमा आधारित उद्योग खोल्न सहयोग गर्ने बताए ।

किसानलाई कृषि पेशाबाट बिस्थापन नभएर ठूलो स्केलमा उत्पादन गर्नका लागि प्रोत्साहन गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले किसानलाई सामूहिक खेती प्रणालीमा संलग्न गराएर उत्पादनमा लगाउनुपर्ने बताए । कृषि क्षेत्रमा दिइने अनुदान नगदमा नभएर अनुदान दिंदा भरसक जिम्सी सामग्री खरिद गरेर दिनुपर्ने उनको भनाई थियो ।

‘अनुदानका विषयमा केही गुनासाहरु रहेका छन् । कृषि क्षेत्रका लागि दिइने अनुदानलाई व्यवस्थित गर्न भरसक जिन्सी सामानहरु खरिद गरेर दिने’, प्रधानमन्त्री ओलीले भने, ‘व्यक्तिगत भन्दा सामूहिक प्रयासलाई प्रोत्साहन गर्ने । व्यक्तिगत रुपमा दिनुपर्ने भएमा नगद रुपैयाँ नभएर किसानलाई आवश्यक पर्ने सामग्री खरिदमा जोड दिनुपर्छ ।’

हरेकको भान्सालाई अस्पतालको रुपमा विकास गर्न सकेमा स्वस्थ्य नेपाल निर्माण गर्न सकिने भन्दै उनले भान्सालाई अस्पताल बनाउनका लागि कृषिको ठूलो भूमिका हुने बताए । उनले भने, ‘हाम्रो भान्सालाई रोग उत्पादन गर्ने थलो होइन अस्पतालको रुपमा विकास गर्न कृषिको ठूलो भूमिका रहन्छ । हामीले कृषिलाई जति बढी अग्र्यानिक बनाउन सक्यो त्यती बढी हाम्रो भान्सा अस्पताल बनाउन सकिन्छ ।’

हरेकले आफ्नो भान्सालाई विषादीरहित बनाउन सके स्वस्थ्य नेपाल बनाउने अभियानमा थप टेवा पुग्ने उनको भनाई थियो । नेपाली कृषि प्रणालीलाई आधुनिकीकरण गर्नका निम्ती नेपाल प्रयास गर्दै आएको भन्दै प्रधानमन्त्री ओलीले सहयोगी हातहरुको सहयोग खेर नजाने समेत बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार