देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हेलम्बुमा लामो र अग्लो झोलुङ्गे पुल बन्दै

0

(सिन्धुपाल्चोक) – पर्यटकीय क्षेत्र हेलम्बुमा ३७०  मिटर लम्बाइको झोलुङ्गे पुल बन्ने भएको छ । यसका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी आवश्यक प्रक्रिया अघि बढाएको छ ।

मेलम्ची खोलामाथि हजार फिट अर्थात् करिब १८० मिटर उचाइमा बन्ने उक्त पुल आवत जावत मात्र होइन पर्यटका लागि पनि आकर्षित हुने स्थानीयवासीको भनाइ छ ।

सो गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार सो पुल नेपालकै लामो र उच्च स्थानमा रहेका पुल मध्येको एक हो ।  पुलको लागत अनुमान गर्न प्राविधिकले आनाकानी गरेपछि विशेषज्ञको सहयोग लिएको उनले जानकारी दिए । स्थानीय तहले बनाउन धेरै लागत लाग्ने भएपछि प्रदेश सरकारलाई अनुरोध गरेको उनले बताए ।

मेलम्ची खानेपानीको मुहानभन्दा माथि सर्कथली भन्ने स्थानबाट तल्लो भागमा पर्ने उक्त पुल निर्माणका लागि करिव रु तीन करोड ५० लाख खर्च हुने अनुमान छ । सो गाउँपालिकाका सबइन्जिनीयर शेरबहादुर राईका अनुसार पुलको डिपिआर गाउँपालिका र पुलका अनुभवी डा नरेन्द्रलाल जोशीले तयार पारेका हुन् ।

कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेकाले विकास निर्माणको काममा बाधा पुगेका छ । त्यसैले सो स्थानमा बन्न लागेको पुल पनि जनशक्ति र सामान अभावले गर्दा ढिला हुने जिल्ला डिभिजनल इन्जिनीयर राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुलको काम असोजसम्ममा सक्ने लक्ष्य लिइएको छ ।

पर्यटकका लागि हेलम्बु राजधानीबाट सबैभन्दा नजिक र पुरानो टे«किङ मार्ग हो । मेलम्ची मुहान नजिकै बन्ने भएकाले आन्तरिक पर्यटक पनि उक्त पुल हेर्न जान सक्ने छन् । पुल निर्माणपछि सिन्धुपाल्चोक जिल्लाकोे सबैभन्दा उचाइ र सबैभन्दा लामो हुने अध्यक्ष शेर्पाले जानकारी दिए ।

यातायातको सुविधा भएपछि पछिल्लो समय घुम्नका लागि हेलम्बु जानेहरु बढ्दै गएका छन् । मेलम्ची मुहान हेर्न पनि आन्तरिक पर्यटक धेरै आउने गरेका छन् । उक्त पुलबाट हेलम्बुको पर्यटकीय केन्द्रहरु तार्केघ्याङ उत्तर र मेलम्चीघ्याङ दक्षिणपूर्वमा पर्छ । पुल निर्माणपछि बन्जी हान्नका लागिसमेत उपयुक्त हुने उनले बताए । सो पुल निर्माणपछि हेलम्बुका पर्यटकीयस्थल मिलेरेप्पा, नाकोते, घ्वागाङ, रिबाल्मा लगायत बस्तीमा पुग्न सजिलो हुने सो गाउँपालिकाले जनाएको छ । रासस

द्वारा लेखिएको

मध्यबिन्दु