देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ह्दयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. चन्द्रमणि

0

(काठमाडाैं) – सरकारले शहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रको कार्यकारी निर्देशक पदमा डा. चन्द्रमणि अधिकारीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न सिंहदरवारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केन्द्रको कार्यकारी निर्देशक पदमा अधिकारीलाई नियुक्त गरेको जानकारी दिए ।

अधिकारीलाई ४ वर्षका लागि सरकारले नियुक्त गरेको हो । नेपाल मेडिकल काउन्सिलका रिक्त सदस्य पदमा किशोरविक्रम मल्ललाई नियुक्त गरेको छ ।

यस्तै, डा. हरिहर वस्ती, डा सन्ध्या चापागाँई, डा. सुप्रभात श्रेष्ठ, प्रनित पोखरेल र रजिष्ट्रार पदमा डा. कृष्ण प्रसाद अधिकारीलाई नियुक्त गरेको छ । बैठकले सार्वजनिक खरिद (नवौं संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ ।

साना विकास आयोजना कार्यान्वयनका लागि नेपाल तथा भारत सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्ने निकाय र ढाँचा तोक्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको उहाँले जानकारी दिए ।

खयरबाट उत्पादन हुने वस्तुको सम्बन्धमा २०७६ असारमा नेपाल राजपत्रमा प्रकाशित निकासी पैठारी सम्बन्धी सूचित आदेशमा संशोधन गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषदको बैठकले हातहतियार खरखजाना सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

साईप्रसको निकोसियामा कार्यरत अवैतनिक नेपाली वाणिज्यदूत रामजीवन पन्जियारको कार्यकाल चार वर्ष थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको स्वामित्वमा रहेको साविक पदमपोखरी–२ हाल हेटौंडा उपमहानगरपालिका वडा नं. १३ स्थित कित्ता नं. १०२ क्षेत्रफल ९ दशमलव १ कठ्ठा जग्गा प्रहरी चौकी पदम पोखरीको नाममा स्वामित्व हस्तान्तरण गर्न स्वीकृति दिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार