देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

०४६ सालपछि उच्च अहोदामा बस्ने सबैको सम्पत्ति छानविन गरौं – महामन्त्री थापा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेर अवैधानिक ढंगले सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानविन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् ।

शनिबार कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले उच्च ओहोदामा बसेर अख्तियारको दुरुपयोग गरेर अकुत कमाएकाहरूको सम्पत्ति छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘०४६ सालपछाडि उच्च ओहोदामा बसेर जसले अवैधानिक ढंगले सम्पत्ति कमाएको छ, उसको सम्पत्ति छानविन गरौं । जसले अनियमित ढंगले सम्पत्ति कमाएको छ, उसले सम्पत्ति खोसेर कानुनको दायरामा ल्याउनुपर्छ । यसको नेतृत्व कांग्रेसले गर्ने कि नगर्ने ?’

‘गाउँगाउँमा कांग्रेसका साथीहरूले खानेपानीदेखि सडकसम्म सार्वजनिक काममा आफ्नो सम्पत्ति खर्च गरेर काम गर्नुभएको छ, कांग्रेसले भ्रष्टाचार गर्दैन, भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास दिलाउन हामीले अगुवाई किन नलिने ?,’ महामन्त्री थापाले प्रश्न गरे ।

‘अहिले वडादेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ । तर केन्द्र सरकारको नेतृत्वमा कांग्रेस छैन । हामीले प्रधानमन्त्रीलाई भेटेर पटक पटक जनजीविकाको सवालमा केन्द्रीत हुन ध्यानाकर्षण गराएका छौँ,’ उनले भने, ‘सहकारीमा समस्या छ, सरकारले अध्ययन गरेर रिपोर्ट पनि बनाएको छ, तर रिपोर्टमा दिइएको विज्ञको सुझावअनुसार काम भएको छैन । हरेक क्षेत्रमा त्यस्तै समस्याहरू छन् ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार