देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१३ वर्ष दुबईमा रोजगारी, फर्केपछी गाउँमै लटरम्मै तरकारी 

0

काठमाडौं – बारीभरि टमाटर, करेला र काँक्रा लटरम्म फलेका छन् । भर्खरै टिपेको तरकारी बजार लैजाने तयारीमा देखिन्छन् ।

यो दृश्य दाङको घोराही उपमहानगरपालिका–६ लखुवारका स्रष्टा आचार्यले गरेको व्यावसायिक तरकारी बारीको हो । उनले चार बिघा चार कट्ठा जमिन भाडामा लिएर तरकारी खेती गरेका छन् । जग्गा भाडा मात्रै वार्षिक रु एक लाख २८ हजार तिर्छन् ।

उनले काँक्रा, बोडी, टमाटर, खरबुजा र घिराँैलालगायत तरकारी लगाएका छन् । ‘उत्पादित तरकारी वैशाखदेखि बिक्री सुरु गरेका छौँ’, उनले भने, ‘अहिलेसम्म चार लाख आम्दानी भएको छ ।’ व्यापारी घरमै आउने भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने झन्झट नभएको उनले बताए ।

वैदेशिक रोजगारीका क्रममा दुबईमा १३ वर्ष बिताएका स्रष्टाले फर्केपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचाइका साथ तरकारी खेतीमा लागेको बताए ।

दुबईमा ‘अप्रेसन कन्ट्रोलर’का रुपमा यातायातमा काम गरेको अनुभव उनीसँग छ । ‘उता पनि कमाई राम्रै थियो तर यतै काम गर्ने सोचले स्वरोजगार बन्न व्यावसायिक तरकारी खेतीमा लागेको हुँ’, उनले भने ।

तरकारी खेतीमा अहिलेसम्म १५ लाख लगानी भइसकेको उनको भनाइ छ । दुईजनालाई फार्ममै बस्ने व्यवस्था गरेका छन् । आवश्यकताअनुसार दैनिक छदेखि आठ जनालाई रोजगारी दिने गरेको उनले बताए ।

स्थानीय सरकारले विदेशबाट फर्केर कृषिमा लाग्ने युवालाई सहयोग गर्ने सुनेको तर आफूले त्यो अवसर नपाएको उनले बताए । सानो लगानीबाट आम्दानी गर्दै र त्यही आम्दानीलाई लगानीमा रुपान्तरण गरी बढाउँदै लैजाने उनको योजना छ । –रासस

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार