देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१५ शैयाको अस्पतालमा परिणत हुँदै इन्द्रावतीको नवलपुर प्राथमिक स्वास्थ्य चौकी

0

सिन्धुपाल्चोक – इन्द्रावती गाँउपालिका नवलपुरस्थित नवलपुर स्वास्थ्य चौकी स्तरोन्नति पश्चात १५ शैयाको प्राथमिक अस्पतालमा परिणत गर्न लागिएको छ । अस्पतालका लागि निर्माणाधिन भवनको काम अन्तिम चरणमा पुगेकाले आउँदो वैशाखमा उद्घाटन गरि अस्पतालबाट हुने सेवा प्रवाह गरिन लागिएको हो ।

सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार नवलपुर स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको गाउँपालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले जानकारी दिए । उनका अनुसार अस्पतालमा परिणत गरिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सदरमुकामबाट २० किलोमिटरको दूरीमा रहेको स्वास्थ्यचौकीमा आधारभूत तहको स्वास्थ्य सेवा पनि नहुँदा यहाँका बिरामीले वर्षाैँदेखि सास्ती भोग्दै आएका स्थानीयवासी अध्यक्ष तामाङले बताए । अस्पताल बनेपछि स्वास्थ्यका अधिकांश समस्या यहींबाट सेवाप्रवाह हुने अध्यक्ष तामाङको दावी छ ।

भवन निर्माणसमेत तीब्र गतिमा काम भइरहेको गाउँपालिकाको वडा नं ४ मा रहेको उक्त स्वास्थ्यचौकीमा हाल प्राथमिक उपचार, प्रसुती सेवा मात्र हुने भएकाले स्थानीयवासी जटिल उपचारका लागि धुलिखेल र काठमाण्डौका अस्पताल जानुपर्ने बाध्यता रहेको छ ।

गाउँपालिका भित्रका १२ वडाका स्थानीयबासीहरु स्वास्थ्य सम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम जाने गरेका छन् । गाउँपालिकावासीहरुमा चेतनाको क्रमिक बिकाससंगै स्वास्थ्य, सरसफाइ तथा समुदायको स्वस्थकर बानी व्यबहार अबलम्बन गदै गएको प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलले बताउनुभयो ।

यहाँ दैनिक ३० भन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । स्वास्थ्यचौकीबाट ल्याबसहितको प्राथमिक तहको उपचार भइरहेको छ । वडामा रहेको हेल्थपोष्टहरुमा पर्याप्त स्वास्थ्यकर्मी उपलब्ध नहँुदा समस्या झेल्नु परेको छ । ग्रामीणस्तरमा उपचारात्मक स्वास्थ्य स्थिति कमजोर रहेकोले अस्पाताल चाडै सञ्चालनमा ल्याउन तत्पर रहेको प्रशासकिय अधिकृत पौडेलको भनाई छ ।

हाल गाँउपालिका भित्रका झण्डै ३० हजार नागरिक यही स्वास्थ्यचौकीको भरमा रहनुपरेको छ । यहाँ निर्माण हुनलागेको १५ शैयाको प्राथमिक अस्पतालबाट आवश्यक भौतिक पूर्वाधार, आबश्यक चिकित्सकसहितको जनशक्ति, स्वास्थ्य उपकरणसहितको आधारभूत स्वास्थ्यसेवा प्रदान हुनेछन् ।

यो बाहेक अहिले गाउँपालिकाभर पाँचवटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइँदै छ । स्वास्थ्य इकाई मंसिर अन्तिमसाताबाट सञ्चालनमा ल्याइने छ । भोटसिपा र सिपापोखरेमा निर्माण हुने स्वास्थ्य चौकीको टेण्डर प्रक्रिया भइसकेको गाउँपालिकाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार