देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१ सय १ वर्षका ‘जवान’ बलमान

0

काठमाडौं – उदयपुर त्रियुगा नगरपालिका–९ राजाबासका बलमान दनुवार १ सय १ वर्ष टेके । यस क्षेत्रकै ज्येष्ठ नागरिक उनको अनुहार चाउरी परे पनि कुनै जवानभन्दा कम लाग्दैनन् ।

दुई दाँतमात्रै देखिने बलमान राम्रैसँग चपाउन सक्छन् । खाना मात्रै होइन, माछा, मासु र जाँडसमेत स्वाद मानीमानी खान्छन् । दिनभर बाख्रा र कुखुरा चराउनमै व्यस्त हुने उनी काम नभएका बेला खेतबारीको झार उखेल्न, गुन्द्रुक बनाउनसमेत भ्याउँछन् ।

१३ वर्षअघि पत्नीशोकमा परेका बलमानका ६ छोरा र दुई छोरी छन् । जेठा छोरा नै ७० वर्ष पुगिसके । दर्जनौं नाति, पनाति र झरझर नाति गरी सयभन्दा बढी नातिनातिना रहेको बलमान सुनाउ“छन् । आफ्नाे कुरा अरूलाई बुझाउन दुईतीनपटक बोल्नुपर्छ, उनलाई ।

‘एक वर्षअघिसम्म बुबाले बोलेको प्रस्टै बुझिन्थ्यो, अहिले बुझन थोरै समस्या हुन्छ, बुबाले जीवनमा धेरै दुःख गर्नुभयो,’ उनका ५१ वर्षीय साइँला छोरा बुद्धवीर भन्छन्, ‘उपभोग्य सामान ल्याउन लाहान जानुहुन्थ्यो । केही समय भारत पनि जानुभयो । हामी ६ मध्ये एक भाइले मात्रै ८ कक्षा पढेका छौं । अरूले पा“च कक्षा पनि पढ्न पाएनन् ।’

१२ वर्ष कतारमा रोजगारी गरेर फर्केका बुद्धवीर ‘पहिला–पहिला खान अभाव भए पनि अहिले अन्न पर्याप्त रहेको’ सुनाउ“छन् । ‘सय वर्ष पार गरेका बुबा काम गरे सन्चो हुनुहुन्छ,’ दैनिक घरायसी काम गरिरहने बुद्ध थप्छन् ।

आफु गाउँभरकै सबैभन्दा ‘बूढो मान्छे’ भएको बताउँछन्, बलमान । तर, उनलाई आप्mनो उमेर ठ्याक्कै याद भने छैन । ‘वैशाख जन्मेको चाहिँ पक्कै हुँ, गाईवस्तु र बाख्रालाई घाँस खुवाउँछु, कुखुरालाई चारो हाल्छु । धानखेत, तरकारी बारी र केराबारीको झार उखेल्ने काम गर्न सक्छु,’ उनी भन्छन्, ‘बच्चैदेखि गरेको काम अहिले पनि गरिरहन मन लाग्छ । सय वर्ष बाँचेँ, अझै कति बाँचिन्छ, थाहा छैन ।’

सानो छँदा स्कुल, अस्पताल, सडक कतै नभएकाले अहिले सबै क्षेत्रमा विकास भएको प्रति बलमान खुसी छन् । जीवनको ऊर्जावान् समय कृषि र घर बनाउने काममै उनले बिताएको समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार