देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

४७ दिनपछि मेलम्चीका बाढीपीडित फेरि विस्थापित, बजारवासी आन्दोलित

0

सिन्धुपाल्चोक – भ्रेमाथाङमा गत असार १मा बाढीसँगै आएको पहिरोले क्षति पुर्‍याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करोडौं मूल्यका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् ।

हेलम्बु-१ का आशा लामाले भने, ‘बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ यहाँ पनि जोखिम बढ्यो अब कहाँ बस्ने ?’ उनीजस्तै ९० परिवारको घर असार १ को पहिराले पूर्ण क्षति भएर पाल, टहरा र आफन्तकामा आश्रय लिएर बसेका छन् । हेलम्बुकै सरस्वती मगर घाम र पानीका बेला पालमा जीवन गुर्जान गाह्रो भएको गुनासो गर्छिन् ।

मेलम्ची बजारवासीको पनि उस्तै पीडा छ । केही आफ्ना घर पसल सफा गरी सरिसकेका थिए तर शनिबारको बाढीपछि उनीहरु फेरि सुरक्षित स्थानतर्फ लागेका छन् । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका २० घरटहरा बगाएको छ । बाढीले रेडियो मेलम्चीको भवन पनि बगाएको छ । पक्की र कच्ची गरी २० घर टहरा बगाएको र तीन घर डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

उनका अनुसार असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर फेरी गएरातिको बाढीले बगाएको हो । ती घर खाली थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीय हस्त पण्डितले दिनुभएको जानकारीअनुसार राति ७ स्४५ बजे पुल बगाएको हो । मेलम्ची– ७ र ८ पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पको यो पुल थियो । पुल बगाएसँगै अब यो भेगमा सवारी साधानको आवतजावत बन्द भएको छ ।

त्यस्तै ग्यालथुमको एउटा झोलुङ्गे पुल बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अहिले ग्याल्थुमका ४० घर जोखिममा परेका छन् । अब मेलम्ची बजारदेखिमाथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए । खोलामा लेदोसहितको बाढी आएको र ‘बाढी घट्ने, बढ्ने’ भइरहेको उनको भनाइ थियो ।

हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बुमा सवारीसाधन जान नसकेको त्यहाँका नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए ।

बजारवासी आन्दोलित

नगरपालिकाले नदी नियन्त्रण गरी बस्ती जोगाउन चासो नदिएको भन्दै मेलम्ची बजारवासी आन्दोलित भएका छन् । आइतबार उनीहरुले नगरप्रमुख र त्यहाँका पदाधिकारी नदी नियन्त्रण गरी बस्ती जोगाउन उदासिन रहेको भन्दै नाराबाजी गरे ।

बाढी आएको दिनदेखि नगरका प्रतिनिधि आफ्नो क्षतिग्रस्त बस्तीमा नआएको स्थानीय बाढी प्रभावित एवं मेलम्ची पुनःनिर्माण समितिका अगुवा सागर श्रेष्ठले बताए ।

जोखिम घटने स्थिति छैन: शेर्पा

बाढ़ीग्रस्त क्षेत्रको मुहान हेलिकप्टरमार्फत पुगेर अनुगमन गरी काठमाडौँ फर्किएका गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले तत्काल पहिरोको जोखिम घटने स्थिति नभएको बताए ।

मेलम्ची करिडोरका बासिन्दालाई तत्काल अन्यत्र सुरक्षित ठाउँमा सार्नुको विकल्प नभएको उनको भनाइ थियो । लेदो भीमथाङबाट बग्नेक्रम जारी छ, वैकल्पिक बसोबासका लागि म प्रयासरत छु, यही क्रममा गृहमन्त्रीसँग वस्तुस्थितिको जानकारी गराइसकेको छु । ‘प्रधानमन्त्रीसँग समेत भेटेर जानकारी गराउनेछु’, उनले भने, ‘त्यहाँको पहिरो रोक्नका लागि सरकारले विज्ञ पठाएर अनुसन्धान गर्नुपर्ने उनको माग थियो ।

चनौटेमा तत्काल बेलिवृज निर्माण गरिने

हेलम्बु गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने चनौटेको रातोपुलको स्थानमा तत्काल बेलिब्रिज निर्माण गरिने भएको छ । बाढीले आइतबार बिहान सो पुल बगाएको थियो।

नेपाली काँग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल सरकारको सहयोगमा तत्काल आवतजावतका लागि सहजीकरण गर्ने उद्देश्यले बेलिब्रिज निर्माणका लागि पहल गरिने बताए ।

बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री तथा गृहमन्त्रीलाई जानकारी गराइएको बताउँदै उहाँले तत्काल पुल निर्माण शुरु गरिने प्रतिबद्धता व्यक्त गरे । रासस

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार