देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘५ वर्षका लागि पाएको अवसर दुरुपयोग गर्नेलाई किन मत दिने ?’ – गगन थापा

0

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी निर्वाचनमा ५ वर्षका लागि पाएको अवसर दुरुपयोग गर्नेलाई मत दिएर आफ्नो अधिकार दुरुपयोग नगर्न सचेत गराएका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले आगामी निर्वाचनमा एमाले मत माग्न आउँदा नेकपा सरकार हुँदा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नगरेको ? पार्टी र संसद् किन तोडेको ? भनेर सोध्न सक्नुपर्ने बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने ओलीको भनाइप्रति सत्यता नभएको दाबी थापाको छ। ‘छलफलको लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो। त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो। त्यही कुरा मिडियाले स्थान दिए’ उनले भने।

तालमेलबारे पार्टीभित्र फरक मत राखेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ। गत निर्वाचनमा ओलीले माओवादी केन्द्रसँग रातारात गरेको तालमेल सही भए अहिले कांग्रेसले गरेको गठबन्धन पनि सही हुने उनले दाबी गरे।

महामन्त्री थापाले भने, ‘तालमेल गर्नेबारे पार्टीमा छलफल गर्दै छौँ। माओवादी र एमाले मिलाएर रातारात पार्टी उहाँले बनाउनुभएको होइन। हिजो प्रचण्ड र उहाँ एउटै जहाज चलाउन थाल्नुभएको होइन। त्यही कुरा उहाँले गर्दा सही अरुले गर्दा बेठिक हुने?’

गठबन्धनले तल्लो तहसम्म परिपत्र गरेकाले तल्लो तहको निर्णयअनुसार केन्द्रले निर्णय गर्ने बताए।  ‘गठबन्धनबारे पाटीले निर्णय गरेपछि हामीले परिपत्र गरेका छौँ। उहाँहरुले अब छलफल गर्नुपर्छ। अब तपाईले नै यहाँबाट मलेर जान्छौँ भने ठिक छ। हुँदैन भन्नुहुन्छ भने पनि ठिक छ। अन्तिम निर्णय तपाईंहरुले नै गर्ने हो’ उनले भनाइ छ।

कार्यक्रममा थापाले गाउँपालिकाकी दिवंगत उपाध्यक्ष मिरा अधिकारी लामालाई स्मरण गर्दै भने ‘मिरा भाउजू यति राम्रो गाउँपालिका बनाएर बित्नुभयो। हामीबीच रहनु भएन यस्तो रमाईलो क्षणमा उहाँ भएको भए कति रमाइलो हुन्थ्यो मलाई कस्तो नरमाइलो लागिराको छ,’ थापाले भने।

थापाले आजै इन्द्रावतीमा निर्मित रंगशालाको समेत उद्घाटन गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार