पर्यटन

आहा ! सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाः घुम्नै पर्ने यी स्थानहरु

Madhyabindu Online इन्द्रावती गाउँपालिकाको बुढिचौरबाट देखिने जुगल, गौरिशंकर, गणेश लगायतका हिमशृंखलाका दृष्यहरु ।


A A- A+

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा भ्रमण वर्षको सुरुवात गरिएको छ । नेपाल सरकारले सुरुवात गरेको भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने योजना अनुसार गाउँपालिकाले पनि भ्रमण वर्षको सुरुवात गरेको हो ।
भ्रमण वर्ष अभियान अन्तर्गत गाउँपालिकाले बुधबार गाउँपालिकाको वडा नम्बर १२ भिमटारको पर्यटकीय धार्मिक स्थल भिमसेन मन्दीर हुँदै वडा नम्बर १० को रमणिय बुढिचौर, वडा नम्बर ६ को धार्मिक पर्यटकीय स्थल बौद्ध बिहार, वडा नम्बर ५ को धार्मिक तथा ऐतिहासिक स्थल रणनैनेश्वर महादेवको मन्दीर, वडा नम्बर ४ नवलपुरको भिमसेन मन्दीर, गाउँपालिकाकै शिरमा रहेको वडा नम्बर १ को नौलिङगेश्वर महादेव मन्दीर, मेलम्ची र ईन्द्रावती गाउँपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल गुफाडाँडाको भ्रमण गरेर गाउँपालिकाले भ्रमण वर्षको सुभारम्भ गरेको हो ।


कार्यक्रमको शुभारम्भ गर्दै भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले पर्यटन विकास समिती गठन गरि विभिन्न योजना बनाएको छ भने पुर्वाधार विकासका लागि करिब २ करोड बजेटबाट कामहरु भईरहेको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले बताए । पहाडी भूभागमा रहेको यस गाउँपालिकालाई पर्यटकीय दृष्टिीकोणले निकै महत्वपूर्ण मानिएको छ ।

घुम्नै पर्ने गाउँपालिकाभित्रका यी स्थानहरु
ईन्द्रावती गाउँपालिकामा बुढिचौर लगायतका विभिन्न स्थानहरु घुम्नलायक छन् । बुढिचौरबाट धौलागिरी, गणेश हिमाल, जुगल हिमाल लगायतका हिमालहरुको अवलोकन गर्न सकिन्छ । गाउँपालिकाको वडा नम्बर १० मा पर्ने बुढिचौर आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण भएकाले यस क्षेत्रको पर्यटन विकासको लागि काम भईरहेको वडा अध्यक्ष तथा ईन्द्रावती गाउँपालिकाका पर्यटन विकास समिति संयोजक जिवन थापाले बताए ।

इन्द्रावती गाउँपालिकाको बुढिचौरबाट देखिने जुगल, गौरिशंकर, गणेश लगायतका हिमशृंखलाका दृष्यहरु ।

त्यस्तै, गाउँपालिका भित्र रहेको बुढीचौर सहित वडा नम्बर ९ को रानीओढार, १२ को भिमसेन मन्दीर, ६ को बौद्धविहार, फलाटेश्वर मन्दीर, खड्पेश्वर मन्दीर तथा गुफा, ५ को रणनैनेश्वर महादेव तथा नयाँपानीधाम, १ को नौलिङेश्वर, ४ को भुकम्पस्मारक, भिमेनस्थान घुम्नका लागि उपयुक्त स्थलहरु हुन् । वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा बहादुर तामाङ (च्याङवा) भन्छन, “काठामाडौँबाट दुरीका हिसाबले करिब ५० किलोकिटरको दुरीमा रहेको र सडकमार्गद्धारा सजिलै पुग्न सकिने हुँदा यस गाउँपालिका पर्यटकीय गन्तब्य बन्ने कुरामा हामी विस्वस्त छौँ ।”
आलु, मकै, गँहु, धान, कोदो त्यहाँका मुख्य बाली हुन् भने फलफुलमा सुन्तला, स्याउ, लिचि, आरुवखडा, रुखकटहर, भुईकटहर, अम्बा पनि त्यहाँ पाईन्छ ।

सिन्धुपाल्चोकको इन्द्रावती ६ मा रहेको बौद्धविहार ।

गाउँपालिकाको बारेमा
इन्द्रावती गाउँपालिका इन्द्रावती नदीको काखमा प्राकृतिक मनोरम संरचना सहित उच्च पहाडी क्षेत्रमा अवस्थित छ । १०५.११ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस इन्द्रावती गाउँपालिकाको उत्तरमा पाँचपोखरी थाङपाल र जुगल गाउँपालिका पश्चिमतर्फ मेलम्ची नगरपालिका, दक्षिणमा काभे्रपलाञ्चोक जिल्ला र पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका र जुगलगाउँपालिका रहेका छन् ।
यस गाउँपालिकामा औषत पारिवारीक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार व्यवसाय, पशुपालन, साना उद्योग, सेवा, नोकरी, वैदेशिक रोजगारी हुन् । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व जस्तै नयाँ वर्ष, लोसार, साउने सक्रान्ति, कृष्णजन्माष्टमी, तीज, दशै, तिहार, माघे सक्रान्ति, चैते दशै आदि मनाउने गरिन्छ ।
पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाको केही भागमा खेतियोग्य उर्वर जमिनले ओगटेको भए पनि अधिकांश भाग पहाडी भागले ओगटेको छ । जंगल र जलाधार क्षेत्रको कमि नभएको यस गाउँपालिकामा सानाठूला गरीधेरै खोला तथा नदीहरु रहेका छन् । यस गाउँपालिकाको प्रमुख जलाधार भनेको इन्द्रावती नदी हो ।

छुटाउनु भयो कि ?