कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

गुरुकुल बन्दै सिन्धुपाल्चोकको संस्कृत विद्यालय
भवनाथ आचार्य/सिन्धुपाल्चोक– जिल्लाकै जेठो अर्थात् वि.सं १९६० सालमा स्थापित सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं ६ सिपातिनघरेमा रहेको एक मात्र सँस्कृत विद्यालय श्री सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयले आफ्नो ११७ औं स्थापना दिवस यही २०७६ पुस २२ गते एक औंपचारिक कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरेको छ । आजभन्दा ११६ वर्षअघि अर्थात् वि.सं १९६० सालमा भाषा पाठशालाको रुपमा स्थापना भएको उक्त विद्यालय भाषा पाठशाला पूर्वप्राथमिक, प्राथमिक विद्यालय, निम्न माध्यमिक हुँदै २०४५ सालमा सँस्कृत माविको अनुमति पाएर कक्षा सञ्चालन भएको हो ।
तत्कालिन पुरातनवादी पितृसत्तात्मक सोचले चलिरहेको समाजमा स्थानीय एक महिला भक्तमाया न्यौपाने संस्थापक रहेको उक्त विद्यालयमा राज खानदानले मात्रै अध्ययन गर्ने भनेर त्यो समयमा बुझ्ने गरेको गुरुकुल शिक्षा सिपातीनघरेसम्म पुर्याउनुमा संस्थापक भक्तमायाकै सन्तानहरुको योगदान अतुलनिय पाइन्छ ।
यसका अलावा स्थानीय शिक्षाप्रेमी विष्णुलोचन न्यौपाने, नेत्रप्रसाद न्यौपाने, शंकरनाथ न्यौपाने लगायत समाजका शिक्षाप्रेमी व्यक्तित्वहरुको पहल र गुरु खेमराज केशव शरणको विशेष सहयोगमा भाषा पाठशालबाट औपचारिक सँस्कृत विद्यालयको रुपमा अघि बढेको उक्त विद्यालयमा ३० वर्ष अध्ययापन गराएका शिक्षक शम्भु प्रसाद कोइराला बताउँछन् ।
एउटै वडामा दुईओटा माध्यमिक विद्यालय हुनु आधुनिक शिक्षाका नाममा अंग्रेजी शिक्षातर्फको मोह बढ्नु वैदेशिक रोजगारी तथा अन्य कामको शिलशीलामा मानिसहरु शहर केन्द्रित हुनु जस्ता कारणले विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको विद्यालयका प्रधानाध्यापक पुण्य प्रसाद आचार्य बताउँछन् । भारतीय राजदूतावास मार्फत् निर्माण हुन लागेको भवन पुरा भएपश्चात आगामी शैक्षिक सत्रदेखि आवासीय गुरुकुल शिक्षा समेत सञ्चालन गर्ने तयारी गरेको कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमविक्रम थापा बताउँछन् ।
शिक्षा क्षेत्रमा आमुल परिवर्तनपछि मात्रै समग्र पुर्वाधार विकासमा सहजता आउने जनाउँदै ईन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ भन्छन, “आवस्यकता अनुसार विद्यालयहरुलाई दिवा अवासिय तथा पूर्ण आवासिय कार्यक्रम सञ्चालन गरि शिक्षा क्षेत्रमै आमुल परिवर्तन गरिने र यो एउटा ईतिहास बोकेको जिल्ला कै एक मात्र संस्कृत विद्यालयलाई गुरुकुलको रुपमा विकास गरि अघि बढाउने कुरामा गाउँपालिकाको पूर्ण सहयोग रहनेछ ।”
संस्कृत शिक्षाको अध्ययन ब्राम्हण समाजले मात्र गर्छन भन्ने सोचमा परिवर्तन गर्दै दलित जनजातीहरुले पनि समान रुपले संस्कृत शिक्षाको अध्ययन गर्नु आफैमा महत्वपूर्ण विषय हो । सीपातिनघरे संस्कृत माविमा अध्ययन गरेर अहिले सोहि विद्यालयमा अध्यापन गराउने शिक्षक नवराज विक भन्छन, “संस्कृतको अध्ययनले नेपाली भाषा लेख्न र बोल्न अत्यन्तै सहज हुने मात्रै होईन, जीवनलाई सांस्कारिक अनुशासित बनाउन मद्दत पुगेको छ ।”
आगामी दिनमा संस्कृत शिक्षाका अलावा आधुनिक शिक्षालाई पनि युग सापेक्ष बनाउदै लाने योजना रहेको बताउँदै पुर्वप्रधानाध्यापक तथा स्थानीय राम प्रसाद न्यौपाने भन्छन, “सिपातिनघरे संस्कृत माविलाई अब गुरुकुलको रुपमा विकास गरि संस्कृत पढ्न कै लागि घर छोडेर टाढा जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने तयारी भईरहेको छ ।”
यस संस्कृत माविमा अध्ययन गरि सेन्ट अप भएका विद्यार्थीलाई समेत सहजै सरकारी छात्रबृत्तिका साथ उच्च शिक्षाको अवसर रहेको बताउँदै विद्यालय व्यवस्थापन समितिका सदस्य अनुप न्यौपाने भन्छन, “संस्कृत शिक्षाको अध्ययन पश्चात अन्य विषयको उच्च अध्ययन गर्न नमिल्ने बाध्यकारी व्यवस्था हटीसकेकोले भविष्यमा जुनसुकै उद्धेश्य बोकेका विद्यार्थीहरुका लागि यो अवसरको विषय हो ।”
आगामी शैक्षिक सत्रदेखि गुरुकूल शिक्षासमेत सञ्चालन गर्न लागेको सिपातिनघरे संस्कृत माविले संस्कृत शिक्षा अध्ययन गर्न ईच्छुक जुनसुकै क्षेत्र र समुदायका विद्यार्थीहरुलाई निःशुल्क आवासिय व्यवस्था गर्ने तयारी गरिरहेको छ ।
यतिमात्र नभई कक्षा ११ र १२ मा समेत संस्कृत शिक्षा तर्फको अध्ययन अध्यापनको लागि आवस्यक प्रक्रिया सुरु गरिसकेको यस विद्यालयले ईन्द्रावती गाउँपालिकाबाट पनि कक्षा ११ र १२ को लागि अनुमती पाईसकेको छ भने, आवस्यक पाठ्यक्रमका लागि माथिल्लो निकायमा पहल भईरहेको जनाएको छ ।