Madhyabindu News App
पर्यटन

धुलिखेल जिपलाइनको आकर्षणः ‘सुपरम्यान फ्लाइङ’

Madhyabindu Online जिप लाइनमा रमाउँदै पर्यटक । तस्बीरः विष्णुकान्त घिमिरे


A A- A+

राधा ढुंगाना/धुलिखेल– प्याराग्लाइडिङ, बञ्जी जस्तै साहसिक खेल हो ‘जिप लाइन’ । यो खेलको मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउनु पर्दैन । काठमाडौँबाट झण्डै ३३ किलोमिटर दूरीमा पर्ने ‘जिप लाइन’ काभ्रेको धुलिखेलमा रहेको छ । पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको उक्त ‘जिपलाइन’ अर्थात डोरीमा झुण्डिएर खेलिने खेलले पर्यटकहरुलाई तानेको छ ।

वल्र्ड वाईड एडभेन्चर प्रालिले पर्यटन बर्ष २०२० लाई लक्षित गरी पौने ५ करोडको लागतमा गत वर्षबाट ‘जिप लाइन’ को शुरुवात गरेको हो । मौसम सफा भएको बेला त्यहाँबाट अन्नपूर्ण, गणेश हिमाल, लाङटाङ, गौरीशंकर, ल्होत्से, फूर्बीच्याचू लगायत हिमशृङ्खलाका पानारोमा दृश्य समेत अवलोकन गर्न सकिन्छ ।
धुलिखेलको थाक्लेडाँडादेखि शुरु हुने जिप लाइन पाँचखालको खावामा पुगेर अन्त्य हुन्छ । थाक्लेडाँडादेखि पाँचखालको खावासम्म सञ्चालन हुने जिप लाइन दूरी करीब एक हजार १०० मिटरको छ । समुद्रसतहदेखि एक हजार ३०० मिटर उचाइबाट शुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम स्टेशन छ । फ्लाइङको गति प्रतिघण्टा ६० किलोमिटरदेखि अधिकतम ९५ किलोमिटरको छ । बढीमा एक मिनेट २० सेकण्डको समयमा मज्जा लिन सकिने उक्त साहसिक खेलको महत्वपूर्ण भनेको ‘सुपरम्यान’ हो ।
‘जिप लाइन’ नेपाली पर्यटन बजारको क्षेत्रमा नितान्त नयाँ र फरक मान्न सकिन्छ । यसअघि पोखरामा पनि जीपलाइन सेवा भएपनि यसमा खेलिने सुपरम्यान खेल र जोडीले गर्ने खेल भने पहिलो हो । ‘सुपरम्यान फ्लाइङ’ नेपाली पर्यटकमाझ निकै लोकप्रिय छ ।
विशेषगरि नेपाल आउने पर्यटकले धेरै नै रुचाउने ‘सुपरम्यान फ्लाइङ’ भने यो नेपालकै पहिलो भएको सञ्चालक केदार थापाले बताए । उनले भने, “यसमा पर्यटकहरु आकर्षित छन्, साहसिक खेलमा रमाउने पर्यटकका लागि महत्वपूर्ण पर्यटकिय गन्तब्य बनेको छ । अझ ‘सुपरम्यान’ उड्न पर्यटकहरु बढि रमाउँछन् ।”
के हो ‘सुपरम्यान फ्लाइङ’ ?
कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसी पर्यटकले चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गर्छन् । यसरी खेल्दा करीब एक मिनेट हावामा उडेको महसुस हुन्छ । माथिबाट जङ्गल फाँट, घर साथै विभिन्न दृष्यावलोकन गर्दा छुट्टै आनन्द आउने पर्यटक बताउँछन् । फलामको लठ्ठा डोरीमा घिर्नी जोडेको हुन्छ । त्यही घिर्नीमा विशेष प्रकारको फितामा झुण्डिएर पर्यटक माथिबाट तल झर्छन् । हावाको वेगमा प्रकृतिको आनन्द लिनका लागि यो खेल अति महत्वको छ ।
जिपलाइनबाट देशका विभिन्न जिल्लासहित चीन, कोरिया, हङ्कङ, अमेरिका र स्वीजरल्याण्डका पर्यटकले साहसिक खेलको मजा लिइरहेको सञ्चालक भुपेश श्रेष्ठले बताए ।
त्यस्तै, यहाँ साना बालबालिकाका लागि छुट्टै जिपलाइन छ । यस्तै चिल्ड्रेन एड्भेञ्चर क्याम्पसहित, रिसोर्ट पनि छ । खेलमा सहभागी हुने पर्यटकका लागि रु पाँच लाखको दुर्घटना बीमा गरिएको छ । प्रतिपर्यटक साधारणतर्फ रु दुई हजार ५००, सुपरम्यानको तीन हजार ५०० र जोडी यात्राको रु चार हजार ५०० मूल्य छ ।

छुटाउनु भयो कि ?