Madhyabindu News App
कला-साहित्य

भोलि मकरसंक्रान्ति मनाइदै, यस्तो छ धार्मिक तथा वैज्ञानिक महत्व !

Madhyabindu Online


A A- A+

माघे संक्रान्तिलाई धार्मिक तथा बैज्ञानिक दुबै दृष्टिकोणले महत्वपूर्ण मानि मनाउने गरिन्छ । माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । सूर्यले एक बर्षमा १२ वटा राशी परिवर्तन गर्दछ । सूर्यले राशी परिवर्तन गर्ने दिन वा महिनाको पहिलो दिनलाई संक्रान्ति भनिन्छ । सूर्य माघ १ गते धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले यस दिनलाई मकर संक्रान्ति भनिएको हो । मकर राशीको स्वामी मालिक शनी हो । शनी सूर्यको छोरा हो । सूर्य र शनी बाबु छोरा भए पनि आपसमा नमिल्ने ग्रह हुन् । तर मकर संक्रान्तिका दिन सूर्य शनीको घरमा गई बसेका हुनाले माघे संक्रान्ति वा माघ महिना भरि स्नान गरि शुद्ध भई पिता वा पितृहरुको पुजा आरधना र दान दक्षिणा गर्ने उत्तम महिना मानिन्छ ।

सुवास जमरकट्टेल

चन्द्रमाका आधारमा समयलाई कृष्णपक्ष र शुक्लपक्ष भने झैं सूर्यका आधारमा एक वर्षको समयलाई दक्षिणायन र उत्तरायण भन्ने गरिन्छ । कर्कट संक्रान्ति अर्थात साउन १ गतेबाट सूर्य दक्षिणायन भई मकर संक्रान्ति अर्थात माघ १ गते बाट उत्तरायणा हुने गर्दछ । ज्योतिषिय अर्थात धार्मिक दृष्टिकोणले दक्षिणायन भन्दा उत्तरायणा लाई शुभ समयका रुपमा लिईन्छ । दक्षिणायनमा दिन छोटा तथा रात लामा हुने हुनाले अन्धकारको राज हुने गर्दछ अन्धकार भनेको मानवीय दृष्टिकोणले खराब अर्थात नकरात्मक उर्जा प्रदान गर्ने समय हो भने उत्तरायणामा रात छोटा र दिन लामा हुने प्रकाशको राज हुने हुनाले सकरात्मक उर्जा प्राप्त हुन्छ तसर्थ विज्ञानका दृष्टिकोणले पनि उत्तरायणलाई राम्रो समयका रुपमा हेरिन्छ । यसरी धार्मिक तथा बैज्ञानिक दुबै दृष्टिकोणले शुभ मानिने उत्तरायण माघे संक्रान्तिबाट सुरु हुने हुनाले जुन सुकै शुभ कार्य, घर भवन निर्माण गर्न, शिक्षा आर्जन गर्न र नयाँ व्यवसाय सुरु गर्नु शुभ मानिन्छ । धार्मिक दृष्टिकोण अनुसार भगवानहरु दक्षिणयनमा सुत्ने र उत्तरयणामा उठ्ने गर्दछन् भन्ने जनविश्वास रहि आएको छ । दक्षिणयणमा सुतेका भगवानहरु मकर संक्रान्तिको दिन उठेर मकर नुहाउने गर्दछन भन्ने लोकोक्ती अनुसार नै मकर संक्रान्तिको दिन विहान गंगा, नदि, तलाउ, जलासय वा तिर्थस्थलमा मकर नुहाउनेको भिड लाग्ने गर्दछ । स्वइच्छिक मृत्युवरण गर्ने वरदान पाएका भिष्म पितामहले दक्षिणयनमा देहत्याग नगरी चितामा पर्खिएर उत्तरायण सुरु भए पछि मात्र मृत्युवरण गरेको प्रसंगले दक्षिणयनमा मृत्यु हुने नर्क र उत्तरायणमा मृत्यु हुने स्वर्गमा जान्छ भन्ने मान्यता छ । मकर संक्रान्तिको महिमा र महत्वको विषयमा महाभारत, श्रीमद्भागवत् र भविष्य पुराणमा समेत उल्लेख गरिएको छ ।

माघे संक्रान्तिमा मकर स्नानको निकै महत्व छ । माघे संक्रान्तिको दिन सबै तिर्थहरु सुर्यमा गएर बस्दछन् र उक्त दिन गंगा, नदि, तलाउ, खोला, घाट वा तिर्थस्थलमा गएर नुहाउनाले सूर्यको सकरात्मक किरणले गर्दा सबै खाले चर्म रोग निको हुने वा चर्म रोग लाग्दैन् सबै खालका पाप नाश हुन्छ भन्ने गरिन्छ । मकर संक्रान्तिको दिन सके गंगा, नदि, तलाउ, खोला वा तिर्थस्थलमा नसके घर मै भए पनि तिल जौ कुश लगाएको पानिले नुहाउनु उत्तम मानिन्छ । देवघाट, चतरा लगायतका नदि किनारमा माघ महिना भरि नै मकर नुहाउने गरिन्छ । मकर स्नान पछि घ्यु, तिल, चाकु, उन, कम्मल दान गर्ने, जप ध्यान गर्ने गरिन्छ ।

यो पर्वमा बनाइने र खाइने हरेक परिकारहरु जाडो भगाई शरिरमा तापक्रम बढाउने खालका हुन्छन् । यस पर्वमा घ्यु, चाकु, तिलको लडु, तरुल, शखरखण्ड, सेलरोटी खाने गरिन्छ । जुन परिकार खानाले शरिरको चिसो बाहिर निकाल्ने गर्दछ । यस दिन ठाउँ अनुसार दाल चामल मिसाएको खिचडी र तिल दालको पिठोबाट बनेको फुलौरा खाने चलन पनि छ । धार्मिक तथा बैज्ञानिक दृष्टिकोणले उत्तम अन्नका रुपमा लिइने तिललाई यो पर्वमा छ प्रकारले उपभोग गर्ने गरिन्छ । तिलले स्नान गर्ने, तिल हवन गर्ने, तिलको तेल शरिरमा घस्ने, पितृलाई तिलयुक्त जल अर्पण गर्ने, तिल दान गर्ने, तिलका लडु खाने आदि । कतै कतै मकर स्नान गरि तिलको बोट (दाउरा) बालेर आगो ताप्ने पनि गरिन्छ । जाडो यामको मध्यमा मनाईने यो पर्वमा शरिरलाई न्यानो राख्ने परिकार खानु स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ । जाडो याममा शरिर सुख्खा हुने हुनाले शरिरमा तिलको तेल धस्नाले छाला सम्बन्धि रोग लाग्नबाट बच्ने हुनाले यो बैज्ञानिक दृष्टिकोणले पनि उपयुक्त देखिन्छ । श्रुतीस्मृती अर्थात पौराणिक किम्वदन्ति अनुसार माघे संक्रान्तिको अघिल्लो दिन बनतरुल, घरतरुल, शखरखण्ड लगायतका माटा मुनि फल्ने फलहरु माटोको माथिल्लो सतहमा आउने हुनाले खन्न सजिलो हुने गर्दछ भनेर जङ्गल भरि बनतरुल खन्न जाने प्रचलन पनि छ । अर्को तिर जाडो मौसममा घ्यु, चाकु, तिलको लड्डु र दालयुक्त खिचडी खानाले शरिरमा गर्मिको मात्रा बढ्ने तथा शरिरलाई आवश्यक कार्बोहाइट्रेड, प्रोटिन तथा पौष्टिक तत्व पुरा हुने हुनाले यो पर्व मनाउनु बैज्ञानिक दृष्टिकोणले पनि आवश्यक छ ।

माघे संक्रान्तिलाई नेपालका थारु समुदायले माघी पर्व अर्थात नयाँ बर्षको रुपमा धुम्धामसँग मनाउने गर्दछन् । थारु समुदायले यो पर्वलाई विभिन्न चरणमा तीन दिन सम्म मनाउने गर्दछन् । त्यसै गरि मगर समुदायले पनि माघे संक्रान्तिलाई निकै हर्षोउल्लासका साथ मनाउने गर्दछन् । मगर समुदायले माघे संक्रान्तिलाई माघ्य सेलेरेस भन्ने गर्दछन् । माघे संक्रान्तिलाई नेवार समुदायले पनि धुमधामसँग मनाउने गर्दछन् । नेवार समुदायले माघे संक्रान्तिलाई घ्यु चाकु सलु भन्ने गर्दछन् । कतै कतै यस पर्वलाई खिचडी पर्व पनि भन्ने गरिन्छ ।

माघे संक्रान्तिलाई नुवाकोट र धादिङ्गतिर गोरु जुधाउने पर्वको रुपमा मनाइन्छ । गोरु जुधाउने परम्पराका विषयमा पनि ठाउँ अनुसार फरक फरक किम्वदन्ति पाइन्छ । नुवाकोटको बेत्रावती तिर वि.स. १८४९ को समयमा नेपाल र भोट विच भएको सन्धीमा नेपालको जित भएको खुशीयालीमा गोरु जुधाई वीरताको उत्सव मनाईएको सम्झनामा गोरु जुधाउने पर्व मनाउने गरेको जनविश्वास छ । नुवाकोट कै तारुका तिर भने वि.स. १८८७ मा बझाङगी राजकुमार जयपृथ्वी बहादुर सिंह तारुका स्थित मावली घर आउँदा भाञ्जा राजकुमारको मनोरञ्जनको लागि गोरु जुधाईएको थियो त्यहीबाट गोरु जुधाउने परम्पराको थालनी भएको मानिन्छ । गोरु जुधाउने पर्वमा सयौं हल गोरु जुधाएर पर्व मनाउने गरिन्छ ।

भौगोलिक विविधता प्रकृतिक सौन्दर्यताका साथै जातीय र संस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देशमा भएका यस्ता विविध संस्कार र संस्कृतिलाई समय सापेक्ष बनाई आफ्नै भुगोल र परम्परा अनुसार मनाई समाजिक सद्भाव र भाइचाराको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउन सके समृद्ध नेपाल, सुखि नेपाली र भ्रमण नेपाल २०२० को नारा सफल हुने देखिन्छ ।

जमरकट्टेल लेखक तथा साहित्यकार हुन् । 

छुटाउनु भयो कि ?