
इजरेल र प्यालेस्टाईनबीच पुन: हिंसा भड्कियो
(काठमाडौं) – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्य पूर्वमा शान्ति स्थापनाका लागि भन्दै नयाँ योजना सार्वजनिक गरेको एक साता नबित्दै इजरेल र प्यालेस्टाईनबीच पुन: हिंसा भड्किएको छ ।
इजरेलले गरेको छुट्टाछुट्टै आक्रमणमा २ जना प्यालेस्टिनीको मृत्यु भएको छ । यस्तै, जेरुसेलममा प्यालेस्टाईनले गरेको आक्रमणमा १२ इजरेली सैनिक घाइते भएका छन् ।
यस्तै, गाजापट्टीमा हमास लडाकु समुहले बिस्फोटक पदार्थ आक्रमण गरेपछि जवाफमा इजरेली सेनाले हवाई कारवाही गरेको बीबीसीले उल्लेख गरेको छ ।
इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आतंकलाई जित्न नदिने बताउनुभएको छ । प्यालेस्टाईनको लडाकु समूह हमासले भने ट्रम्पले ल्याएको योजना विनाशक रहेको भन्दै त्यसको बिरोधमा सो कदम चालिएको जनाएको छ । ट्रम्पले ल्याएको योजना इजरेलको पक्षमा रहेको भन्दै प्यालेस्टाईनले अस्वीकार गरेको छ ।