Madhyabindu News App
बैंक

२ प्रतिशत व्याजदरमा पैसा लिएर १८ प्रतिशत असुल्दै लघुवित्त

Madhyabindu Online


A A- A+

मध्यबिन्दु/काठमाडौं – गरिब र विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यले सुरु गरिएको लघुवित्त कार्यक्रम गरिबहरुका लागि ऋणको पासो बनेको छ । लघुवित्तबाट चर्को व्याजदरमा लिएको ऋण चुक्ता गर्न नसक्दा धेरै विपन्न घरको न घाटको बनेका छन् ।
बैंकबाट दुई प्रतिशतसम्म सहुलियत ब्याजदरमा कोष ल्याउने लघुवित्तले ऋण प्रवाह गर्दा १८ प्रतिशतसम्म ब्याज उठाउने गरेका छन् ।

लघुवित्त संस्थाहरुले ग्रामीण भेगका नागरिकलाई समूह बनाएर ऋण दिन्छन् । नेपाल राष्ट्र बैंकले २०७३ पुस २६ गते लघुवित्तको ब्याज अधिकतम १८.५ प्रतिशतसम्म मात्र हुनुपर्ने व्यवस्था गरेको छ । त्यसअघि यस्ता संस्थाहरुले २४ प्रतिशतसम्म व्याज लिँदै आएका थिए । लघुवित्त संस्थाले पुँजी लागतमा बढीमा नौ प्रतिशतसम्म जोडेर ब्याज लिन सक्ने छुट छ ।
तर, लघुवित्तहरूले वाणिज्य बैंकबाट न्यूनतम दुई प्रतिशतसम्मको सहुलियत ब्याजदरमा पुँजी पाउँछन् । वाणीज्य बैंकहरूले कुल कर्जाको पाँच प्रतिशत ऋण विपन्न वर्गमा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था छ । यस्तो लगानी लघुवित्तमार्फत पनि गर्न सक्ने भएकाले बैंकहरुले लघुवित्तलाई निकै सस्तो दरमा ऋण उपलब्ध गराउँदै आएका छन् ।

हाल नेपालमा ८९ लघुवित्त संस्था सञ्चालनमा छन् । यी संस्थाहरुम ४४ लाख ऋणी आबद्ध छन । यी मध्ये एक लाख २८ हजार ऋणीले लघुवित्तलाई समयमै ऋण तिर्न सकेका छैनन् । यसरी भाका नाघेको कर्जा रकम मात्र ५ अर्ब रुपैयाँ पुगेको छ ।
एउटै व्यक्तिलाई १६ वटासम्म लघुवित्त संस्थाले ऋण लगानी गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार ६९ प्रतिशत व्यक्तिमा एकभन्दा बढी लघुवित्तले लगानी गर्ने गरेका छन् । एउटा लघुवित्तबाट एउटा ऋणीले तीन लाख रुपैयाँसम्म कर्जा लिन सक्छ । दुई वर्षसम्म लगातार असल ऋणीमा परेको छ भने अर्को संस्थाबाट थप दुई लाख ऋण विनाधितो लिन सक्ने व्यवस्था भए पनि एउटै व्यक्तीलाई धेरै संस्थाले करोडसम्म ऋण दिएका धेरै उदाहरण छन् ।

त्यस्तै, लघुवित्तहरुले कर्जा नवीकरणका नाममा गैरकानुनी रुपमा ब्याजलाई समेत सावाँमा जोड्ने गरेका छन् । कानुनअनुसार ऋणको ब्याज सावाँमा गाभ्न पाइँदैन ।
बंगलादेशी मोडलअनुसार नेपालमा वि.सं २०४९ सालबाट गैरसरकारी संस्थामार्फत यो कार्यक्रम सुरु गरिएको थियो । पछि २०५६ सालबाट यी संस्थालाई लघुवित्तमा परिणत गरिएको थियो । गरिब तथा लघुउद्यमीको जीवनस्तर उकास्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम नै अहिले गरिबका लागि पासो बनेको छ ।

छुटाउनु भयो कि ?