पर्यटन

हेलम्बुको ‘हिमालयन ग्रेट ट्रेल’ निर्माण कार्य तिब्र, ११० मिटरको काम सकियो

Madhyabindu Online तस्बीरः विष्णुकान्त घिमिरे


A A- A+

मध्यविन्दु/सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ योजना अन्तर्गत ११० मिटरको निर्माण कार्य भएको छ । ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ को पहिलो चरण ११० मिटर निर्माण कार्य रु.४० लाखमा तयार भएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताए । ‘कुल ६० किलोमिटरको आयोजना पूरा गर्न करीब रु.३ अर्ब ५० करोड लाग्छ, गाउँपालिका अध्यक्ष शेर्पाले भने, ‘ह्योल्मो परम्पराको धर्मचक्र पर्खाल बमोजिम ट्रेल निर्माण शुरु गरिएको हो ।’
सोहि आयोजनाको लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले रु.५० लाख र सङ्घीय सरकारले रु.१ करोड बजेट विनियोजन गरेको शेर्पाले मध्यविन्दु अनलाइनलाई बताए । हाल उक्त आयोजना अन्तर्गत नागीडाँडा, शेर्माथान हुँदै गुरु रिन्पोछे डाँडासम्म ४०० मिटरमा बिसौनी, सिंढी र पेटी बनाउने काम भइरहेको छ । ट्रेल बनाउँदा भौगोलिक अवस्था नबिगार्ने र बोटबिरुवा नभएको ठाउँमा वृक्षरोपण पनि गर्ने योजना छ भने, लाङटाङ राष्ट्रिय निकुञ्जमा जनावरलाई बाधा नपुग्ने गरी संरचना बनाउन निकुञ्ज प्रशासनसँग समन्वय भइरहेको गाउपालिकाले जनाएको छ । ट्रेल बनाउन स्थानीय ढुङ्गाको प्रयोग गरिएको छ । भित्री भागमा मेशिनले काटेका ढुङ्गा प्रयोग गरिएको छ भने बाहिर राखिएका ढुङ्गा छिनोले कुँदिएको छ । सिंढीमा स्लेट प्रयोग गरिएको छ ।
हेलम्बुको बुद्धपार्कबाट शुरु हुने ट्रेल पूरै निर्माण भएपछि आमायाङ्ग्री (ह्योल्मो परम्परा अनुसार धनकी देवी), भेमेथाङ (गुरु रिन्पोछे तपस्यास्थल), मिलारेपा गुफा, पाल्चोक जयवागीश्वरी मन्दिर लगायत हेलम्बुका दर्जनौं गुम्बा तथा धार्मिकस्थल अवलोकन गर्न सकिन्छ । समुद्री सतहबाट २४०० देखि ५००० मिटर उँचाइसम्म फैलने ट्रेल हिंडेर पूरै छिचोल्न नौ दिन लाग्नेछ । सो अवधिमा तामाङ, ह्योल्मो, गुरुङ लगायत जातजातिको संस्कृति अवलोकन गर्न पाइनेछ । ‘माउन्टेन फ्लाइट’ बाट देखिने मध्य तथा पूर्वी क्षेत्रका हिमालमध्ये ८० प्रतिशत ट्रेलबाट देखिनेछ ।

छुटाउनु भयो कि ?