Madhyabindu News App
कर्पोरेट

हिमालयले भित्र्यायो नयाँ जहाज

Madhyabindu Online


A A- A+

रासस/काठमाडौं – नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९–११५ नामक नयाँ जहाज भित्र्याएको छ । सो जहाज उच्च स्थान भएको गन्तव्यमा उडान गर्नसक्ने क्षमताको जनाइएको छ । एयरलाइन्सले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा अर्को नयाँ जहाज थप गरेको घोषणा गरेको हो ।

क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तरराष्ट्रिय विमानस्थलबाट सो जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गएराति अवतरण गराएका कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

सो कम्पनीसंग तीन एअरबस ए ३२०–२१४ र एक एयरबस ए ३१९–११५ गरी चारवटा जहाज भएका छन् । एयरबस ए ३१९–११५ छोटोदेखि मध्यम दूरीको उडान भर्ने एयरबस ए–३२० परिवारकै जहाज हो । एयरबस कम्पनीद्वारा निर्मित यो जहाजमा न्यारो–बडी, दुई इन्जिनयुक्त जेट विमान हो जसले व्यावसायिक यात्रीलाई ल्याउने–लाने गर्छ ।

कूल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको जहाजमा नयाँ र कुशल इन्जिन क्षमता रहेको र १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम रहेको कम्पनीले उल्लेख गरेको छ । यो जहाजले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलि जस्ता गन्तव्यस्थलहरुमा उडान गरी धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्नेछ । सो एयरलाइन्सले मध्यपूर्वी मुलुकमा आफ्नो उपस्थिति बढाउँदै गएको छ ।

छुटाउनु भयो कि ?