Madhyabindu News App
राजनीति

सरकार निरंकुश दिशातिर उन्मुख : सभापति देउवा

Madhyabindu Online

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार निरंकुश दिशातिर अघि बढिरहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको ७४ औं स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले आफनै पार्टीका नेताहरुले समेत प्रतिपक्ष कमजोर भएको भन्ने अभिव्यक्तिप्रती व्यङ्ग्य गर्दै सरकारको विरोध गर्ने निहुँमा कुर्सी र रेलिङ भाच्ने काम नगर्ने बताए । आफ्नो पार्टी हार हुने थाहा हुँदाहुँदै पनि दिगो शान्ति र लोकतन्त्रको लागी निर्वाचन गराएको बताउँदै उनले लोकतन्त्रको रक्षाका लागी कांग्रेस सक्षम रहेकोे बताए ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले दुई तिहाई मतको दुरुपयोग गर्दै स्वेच्छाचारी ढङ्गले अगाडि बढिरहेको टिप्पणी गरे । उनले लोकतन्त्र नै खतरामा पर्ने अवस्था सिर्जना भैसक्दा पनि प्रतिपक्ष सशक्त बन्न नसकेको बताए । नेता कृष्णप्रसाद सिटौलाले सबैले मिलेर ल्याएको लोकतन्त्रलाई नेकपाबाटै खतरा रहेको बताउँदै सरकारले श्रमिक अधिकार कुण्ठित गर्नेदेखी राज्यका अंगहरुलाई नेकपाको शाखा जस्तो ठानेको आरोप लगाए ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकार श्रमिकको अधिकार बन्देज लगाउन उद्घत रहेको आरोप लगाउँदै कांग्रेस सजग हुनुपर्ने औंल्याए । जिफण्टका अध्यक्ष विनोद श्रेष्ठले जुनसुकै दल सत्तामा पुगे पनि श्रमिकको काम नगरेको गुनासो गरे । सार्कटुकका महासचिव लक्षण बहादुर बस्नेतले सरकारले श्रमिकको जिवनस्तर उठाउने नीति कार्यक्रम ल्याउनु पर्ने बताए ।

ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा योजनाले समेट्नु पर्ने बताए । उपाध्यक्षहरु तेजेन्द्र कार्की , अजय राई, आबद्ध संघका अध्यक्षहरु पदमराज रेग्मी , भगवती खड्का र सविरमान विकले वर्तमान सरकार श्रमिक विरोधि कार्यमा उद्घत रहेको आरोप लगाए ।

नेपाली कांग्रेसका पुर्व सभापति स्व. गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा वि.सं.२००३ साल फागुनमा विराटनगर क्षेत्रको मिल्स मजदुरहरुको अधिकारका लागी आन्दोलन भएको दिनलाई ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?