Madhyabindu News App
कला-साहित्य

पुर्णिमा ! तिम्रो आगमन कुरेर आजलाई सुतें ल.. ?

Madhyabindu Online


A A- A+

डा. नवराज लम्साल     

पूर्णिमा
यतिखेर रेडियो नेपालमा छु । २५ वर्षदेखि रम्दै रमाउँदै आएको यो आँगन आज अर्कै लागिरहेको छ । यो बसाइलाई क्वारेन्टिन भनिएको छ र बसाइमा सतर्कता छ । मुखमा माक्स छ, हातमा पन्जा छ । कार्यालयको रूपमा देख्दै र भोग्दै आएको यो कोठामा सोफा जोडेर ओच्छ्यान बनाएको छु । हातमा ल्याप टप छ, आँखामा सपनाको बिस्कुन छ र मनमा तिमी छ्यौ । यी भावनाको कुरा हुन् तर सबैभन्दा ठूलो कुरो जिम्मेवारी छ र जिम्मेवारीको नदीमा बगिरहेको छु । स्थिर रहेर बगेको अनुभूत गर्नु र यो बगाइमा राष्ट्रिय जिम्मेवारी देख्नुलाई संयोग र सौभाग्य ठानेको छु ।
साथमा प्रिय साथीहरू छन् । प्रत्येकको आँखामा उही र उस्तै सपना छ । ती मध्ये धेरैसँग धेरै संगत गरेको छु । वर्षौँदेखि सँगै बसाउठी गर्दै आएको छु र केही नयाँ पुस्ताका नवीन उत्साही र ऊर्जादार तन्नेरी छन् । तिनीहरूसँग पनि सुकुमार हृदय साट्नेछु । सोध्नेछु जीवनको सपना र तिनकै बारेमा पनि लेख्नेछु केही । केही बेरअघि दर्केर पानी प¥यो । घरबाट निस्कने बेला ३ वर्षकी आयराको आँखामा पनि त्यसै गरी दर्केको थियो पानी । एक घण्टा लगाएर फकाएको थिएँ । कोशेली लगिदिने लामो सूची लिएर आएको छु । अघिमात्रै फोन गरेर भनी बाबा माम खानु भयो । बल्ल पानी बग्यो मेरो मुहारबाट तर यी केही होइनन् जिम्मेवारीका अगाडि । निकै खुसी छु । संयोग मान्नुपर्छ यो टिममा जो जो छौँ सबै गुलाबी हृदयका मान्छे छौँ । तिनको हृदयको गुलाब अब आवाजको तरङ्ग बनेर नेपाली जनताको दैलोसम्म पुग्ने छ । आज साँझ ७ बजेको ४५ मिनेट लामो समाचर पढ्दा लागेको थियो, म देशलाई सूचित गरिरहेछु र जनतालाई आशा बाँढिरहेछु । चाहेर पनि धेरैलाई यो अवसर मिल्दैन, जो मलाई मिलेको छ ।
आज एउटा अर्को कुरा अचम्म लागिरहेछ । ७ वर्षदेखि संगत गरेको कार्यकारी निर्देशक सुरेश कुमार कार्कीलाई म कडा दृढ चट्टानी मान्छे ठान्थेँ तर आज दिउँसो उहाँले पाँच पटक जति फोन गर्नुभयो तर उहाँ प्रत्येक पटक पग्लेको पाएँ । कारण त म जान्दिनँ तर उहाँ भावुक हुनुमा पनि केही कारण हुनुपर्छ । मेरो कुनै विभागीय मन्त्रीलाई एक दिन उहाँले भन्नुभएको सम्झेको छु । मैले बोक्नै नसक्ने विशेषण दिएर भन्नुभएथ्यो— मन्त्रीज्यू अर्काको कुरा नसुन्नु । आज हाम्रो कर्मचारी हो, हप्काउँला तर ऊ सय वर्ष बाँच्यो भने भोलिको सत्यमोहन र माधव घिमिरे पुस्ता हुनेछ । त्यो क्षण म पनि द्रवित भएको थिएँ तर खुसी थिइनँ । किन थिइनँ भने मेरो त्यो उचाइको कल्पनै थिएन र छैन । प्रशासकहरू कर्मचारीलाई फुर्काउँछन् मात्र तर उहाँको हकमा के हो जान्दिनँ ।
यी हरफ लेखिरहँदा बाहिर पानी रोकिएको छ । राती ११ बजेको समाचार सकिएको छ । रात सुनसान छ, गहिरो छ । म त्यही गहिरो पोखरीमा भावनाको बल्छी हानिरहेको छु । ८ बजेतिर हुनुपर्छ पूर्वप्रधानमन्त्री माधव नेपालज्यूसँग लामो कुराकानी गरेँ । उहाँले पनि यति मीठो माया दर्शाउनु भयो कि अचम्मित छु । भोलि बिहान ६ बजे उहाँसँग अन्तर्वार्ता गर्नुछ । यो राजनैतिक चर्काचर्कीको अन्तर्वार्ता हुनेछैन, केवल भावनात्मक हुनेछ ।
भित्ताको घडीको आवाज पनि कति ठूलो लागेको । यही कोठामा घडी छ भन्ने हेक्का पनि थिएन तर आज ऊ एउटा अनौठो ताल दिएर मौन गीत गाइरहेछ, मेरै मनले जस्तो गरेर ।
थाहा छैन कति दिन बसिन्छ यसरी तर बसिन्छ । मजाले बसिन्छ । दिनहुँ केही लेख्छु र लेखिरहन्छु ।
बिहान ५.३० बजे आएको थिएँ अफिस । ६ बजे अध्यात्मका गहिरो अध्येता दामोदर गौतमज्यूसँग मिठो अन्तर्वार्ता गरेर १२ बजे घर गएको थिएँ । घरमा सपरिवार खाना खाएँ र २ बजे फेरि आएको हुँ । दिउँसो केही समाचार हेर्ने बाहेक अरू केही काम भएन । वद्रीविशाल तण्डुकार र गोपाल थापाजीले फोन गरेर सोध्नुभयो — खाना खाइयो ? यो सोधाइ केवल खानाको लागि मात्र थिएन शायद । कृष्णचन्द्र पौडेल सरको चासो र सोधीखोजी तथा प्रमोद दाहालजीले समाचार र रिपोर्टिङका विषयमा सुझाउनु भएको सल्लाह र चिन्ताले उत्साह भरेको छ ।
भन्नै बिर्सेछु, बिहान हरिशरण लामिछाने, सन्तोष रेग्मी र प्रवीण पोखरेलसँग बसेर खाएको आलु चनाको स्वाद भन्दा क्वारेन्टाइन बस्दा के के गर्ने भनेर गरेको सल्लाहको स्वाद मीठो थियो ।
यतिखेर सबै साथीहरू निदाइसके होलान् । धेरै दिन लेख्नु छ र धेरै कुरा लेख्नुछ । धेरै साथीका बारेमा लेख्नु छ । उता स्टुडियोमा रात्रीकालीन सेवा जारी छ । मोवाइमै सुनिरहेछु र लेखिरहेछु पनि । रेडियो बजाएर लेख्ने र पढ्ने मेरो पुरानो बानी हो । नानीदेखिको बानी छुट्दोरहेनछ ।
भोलि त यो कोठामा अरू साथीहरू पनि हुनेछन् । आज म छु र पूर्णिमाको याद छ । पूर्णिमा तिमी मीठो निदरीमा हौली । मिल्छ भने सपनीमा आऊ । तिम्रो आगमन कुरेर आजलाई सुतेँ ल ।
२०७६ चैत्र १४ गते ।

छुटाउनु भयो कि ?