
ठुलिभाउजु र कोरोना !
भवनाथ आचार्य
हेल्लो ! ठुल्नानी बोल्या हो ? बिहानको नित्यकर्मकै क्रममा अलि हतारमा उठाएको हातेफोनमा सेभनभएको कल बिरौटाकी ठुलिभाउजुको रहेछ । हजुर हो ! भन्न नभ्याउँदै ‘दर्शन है ठुल्नानी’ भनेपछि बल्ल चिनेको भएपनि नचिनेको जस्तो चाहिँ गरिएन । ‘बाबू तेताबाट फुन गर्नु न यो नातिको फुनमा पैसो छैन रे’ ! हस भाउजू भनेर कलब्याक गरेको के थिएँ एक घण्टी पनि पुरा जान नपाउँदै कलिलो आवाज आयो ” ल बोल बोल उतैबाट गरे फुन ” ।”ठुल्नानी के छ बा आमालाई के कस्तो छ ? केट्केटीलाई ले कस्तो छ ? वरपर छरछिमेक सबैको क्षेमकुशल सोधनी पश्चात् मेरो उत्तरको पर्खाइमा होला सायद भाउजुको आवाज आउन छोड्यो उताबाट । बोलिको तरिकाबाट सहजै अनुमान लाउन सकिन्थ्यो कि ! आज सामान्य सोधपुछ भन्दापनी केही आशावादी भाव पक्कै छ यो फोनवार्ता मा ।
मैले सबैलाई राम्रो छ भनेर आफ्नो वाक्य पुरा गर्न नपाउँदै उताको आवाजले मेरो बोली मत्थर पार्दै उछिनेर आएपछि म सुनिरहेँ । ” अँ ठुल्नानी एउटा कुरा सोधौं भनेर, यो केजाती कोर्नाको माम्मारी आयो भन्छन् । क्याहो क्याहो ? कोहि के भन्छन् , कोहि कसो भन्छन् , डराउँछन, म त तेसै बिलखबन्दमा पर्या छु ।” मेरो उत्तर को प्रतीक्षानै नगरी ठुली भाउजू अघि बढ्छिन ” हेर्नुन ठुल्नानी ठुल्दाजुले पिर मानेर केही छैन । तिनको चिनिरोगको ओखती जम्मा ३ दिनलाई मात्रै छ । यतातिर किन्न पनि पाँइदैन , सकियो भन्छन् । मैले खानेगरेको मुटु र दमको ओखती पनि सकिन लाग्या छ । मेलापात जाननी पाउनु छैन सातुसामल निख्रीइसको ।”
उता ठेक्दारसँग कमौन गएको जुठे पनि बन्दाबन्दीमा पर्या छ । कमाको २-४ पैसा पनि सकिन लागो भन्थ्यो । पैसा जे जसो भएनी यो माम्मारी बाटचैं जोगिएर आइदिए हुन्थ्यो । बुहारीको पनि मैना लागिसको यो बन्दाबन्दी कहिलेसम्म हो ? ” एकछिन बोली नआएपछि म पनि सुनिरहें । ठुलिभाउजुको गला अवरुद्ध भएको रहेछ । पहिलेको भन्दा अलि मलिन आवाज आयो “हेलो !”
हजुर भाउजू मैले बोल्न भ्याएको यत्ति हो । फेरि पहिलेको प्रशंगलाई निरन्तरता दिँदै भाउजु अघि बढिन । ” ठुल्नानी हाम्लाइ साना (वडा) अध्यक्षले त्यो ढाकाको कपडाको मास ( मास्क) देका छन , घरबाट कतै नजानु भनेका छन् । जान त हामी कतै नजाउँला घरमै बसौंला तर हाम्रो ओखतीमुलो र सातुसामलको जोहो कस्ले गर्दिन्छ त नानी ? गाइलाई खुवाउने पिठो छैन घाँस काट्न जान मिल्दैन रे ! तिन्को पनि बिजोग हुनि भो ।हिजो ठुला (गाउँपालिका) अध्यक्ष सेतो पलास्टिका लुगा लाएका डाक्टर सँगै आका’थे । ती डाक्टरले पर बाट निधारमा एउटा सानू मिसिन सोझ्याउँदै ठिक छ भने । अध्यक्षले तातोपानी खानु, साबुनपानीले हात धुनु,घरमै बस्नु भने । अब हामी यो माम्मारी बाट उम्किन्छौं त ठुल्नानी ?”
लगातार ठुलिभाउजुका अनुत्तरित प्रश्नहरु सुनेपछि म अवाक भएँ । त्यो परिवारमा सातुसामलको जोहो गर्दिने को ? नियमित खानुपर्ने ओखती पुर्याइदिने को ? ती बुहारीलाई स्वास्थ्य संस्थासम्म लगिदिने को ? म सँग यो बिपत्तिमा लाउने अलिकति राहतको मल्हमको त कुरै छोडौं सहानुभूतिको जवाफ सम्म छैन । यो प्रकृतिको बिपत्ति सामना गर्ने त परको कुरा भो कि ? ती ठुलिभाउजुले हुन्छ हस भनेर फोन राख्ने भरपर्दो शब्द छैन । सम्बन्धित पक्षको ध्यानाकर्षण होस् त भनिन्छ कि म आफू चाहिँ सम्बन्धित पक्ष हो कि होईन ? जिम्मेवार निकायको ध्यान पुगोस् त भनौंला नि तर म आफूचाहिँ जिम्मेवार होकि होईन ? कसैलाई दोष लाएर उम्कन त सकिएला कि मैले कसैलाई दोष लाउँदैमा बिद्यमान समस्याको समाधान होला त ?
विषय गम्भीर र सोचनिय छ र म लगायत हामीले गम्भीरतापुर्वक लिनु जरुरी छ ।
बाचौं र बचाउँ ।