कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

बाढीका कारण गुल्मीमा बन्दै गरेको पुल दोस्रो पटक भत्कियो
(गुल्मी) – बुधबार वर्षासँगै आएको बाढीका कारण गुल्मीको बढीघाट खोलामा निर्माणधिन पक्की पुल भत्किएको छ । बाढीका कारण गुल्मी मुसिकोट नगरपालिकाको ३ र ७ जोड्नका लागि बन्दै गरेको पक्की पुल दोस्रो पटक फेरि भत्किएको हो ।
अविरल वर्षाको कारण गएको वर्ष ढलानकै क्रममा यो पुल भत्किएको थियो । भत्किएको पुलको आठ महिनापछि फेरि निर्माण कार्य सुरु गरिएको थियो । पुलको गएको चैत मसान्तमा तल्लो ढलान सकिएको थियो ।
बुधबार साँझपख बढीघाट खोलामा आएको बाढीका कारण पक्की पुल भत्किँदा ठूलो क्षति पुगेको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताएका छन् ।
सापकोटाका अनुसार ५५ मिटर लम्बाई भएको यो पुल तीन वर्षअघि सङ्घीय सरकारको पाँच करोड १७ लाख लागतमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले निर्माणको जिम्मा पाएको थियो ।
बाढीले पौदीअमराई र कल्यार जोड्ने पक्की पुलमा समेत क्षति पुर्याएको छ । बाढीले पुलको तल्लो ढलानमा क्षति गर्नुका साथै फर्मा, फलामका पाइप, जेनेरेटर, हुइम पाइप समेत बगाएको छ ।