एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी, सचिवमा १ मतले सिलवाल विजयी

उदाहरणीय बन्दै हेलम्बु गाउँपालिका, लकडाउनमा पनि उत्तिकै सक्रिय (फोटो फिचर सहित)
भवनाथ आचार्य
सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेको हेलम्बु गाउँपालिका पछिल्लो समयमा कुनै न कुनै कारणले चर्चामा आइरहेको छ । भौगोलिक हिसाबले केहि विकट रहेपनी बिकास निर्माणका दृस्ठिले अग्रपंक्तिमा रहेको हेलम्बु कहिले ग्रेट टेलका कारण चर्चामा छ त कहिले तोकिएको समय अघिनै बिनियोजित बजेटको काम सम्पन्न गरेर चर्चित छ । यतिमात्र हो र कहिले गोरुले दूध दिएर चर्चामा आएको हेलम्बु कहिले बहुचर्चित मेलम्ची खानेपानी योजनाको मुहानको कारण चर्चामा छ । यद्यपि चर्चामा आउनैका लागि भने हेलम्बुले हुनै काम गरेको भने होईन ।
प्राकृतिक रूपमा असाध्यै मनमोहक हेलम्बु पर्यटकीय दृस्ठिकोणले पनि महत्त्वपूर्ण छ । विभिन्न मठ मन्दिर, गुम्बा, घ्याङ्ग,झरना लगायत प्राकृतिक मनोरम छ्टाले भरिपूर्ण हेलम्बुमा बिश्वमै दुर्लभ मानिएको रेडपाण्डा समेत पाइन्छ ।काठमाडौं बाट नजिकै रहेको, पहाडी हिमाली पैदलमार्ग भएको र कारणपनि हेलम्बु विगत देखिनै चर्चामा छ ।
कोरोना भाइरसको संक्रमणका कारण समग्र मुलुकमा लकडाउन भएको वर्तमान समयमा पनि हेलम्बु गाउँपालिका त्यत्तिकै सक्रिय छ जति सामान्य अवस्थामा थियो । काेराेनाकाे महामारीमा गाउँपालिका जनप्रतिनिधिले एक महिनाकाे सम्पूर्ण सेवा सुविधा बराबरको ३ लाख ८० हजार रकम काेराेना राहत काेषमा उपलब्ध गराउने निर्णय गरेका छन् । सम्भवत: याे निर्णय गर्ने ७५३ स्थानीय तह मध्येकाे पहिलाे गाउँपालिका हाे हेलम्बु ।
यसैगरी लक डाउनले सबै क्षेत्र बन्द रहेकाेबेला गाउँपालिकाले ढुवानी खर्च व्यहोर्नेगरि रासायनिक मलखरिद गरी बजारभाउ भन्दा प्रतिबोरा ४५० रुपैयाँ कम पर्नेगरी कृषि सहकारी मार्फत वितरण गर्ने निर्णय गरेको छ । यसोगर्दा रासायनिक मलखरिद बापत हेलम्बुका कृषकलाई करिब २७ लाख रुपैयाँ कम पर्ने कुरा गाउँ पालिका उपाध्यक्ष कोपिला पण्डित बताउँछिन ।
उपाध्यक्ष पण्डितका अनुसार यो बन्दाबन्दिको अवस्थामा हेलम्बु गाउँपालिका भित्रका सबै घरघरमा चिकित्सक सहितको टोलि पुगेर आम नागरिकको स्वास्थ परिक्षण गरि नियमित औषधि सेवन गर्ने दीर्घराेगीहरूलाइ निःशुल्कऔषधी वितरण गरिएको छ । गाउँपालिकाले लक डाउनका कारण औषधी अभावमा बसेकाको लगत संकलन गरेर सबै दीर्घराेगीहरु लाई नियमित खाने औषधी निःशुल्क वितरण गरेको हो ।
हालसालै लक डाउनका कारण १ महिनादेखि राजधानीमा अलपत्र परेर बसेकालाइ सबै वडा वडाबाट निशुल्क बसकाे ब्यवस्था गरि गाउँ ल्याउने ब्यवस्था मिलाएको उक्त गाउँपालिकाले सुत्केरी र गम्भीर विरामीलाइ निशुल्क एम्बुलेन्स ब्यवस्था गर्नुका साथै गाउँबाट राजधानी जानुपर्ने विरामीलाइ ३ हजारमै एम्बुलेन्स ब्यवस्थागरि विगत देखिनै सेवा दिँदै आइरहेको छ । साथै गाउँमै बर्थिङ्ग सेन्टरको ब्यबस्थापन गरी निशुल्क प्रसुति ब्यवस्था मिलाउनुको साथै प्रसुति हुदाँ सरकाले दिने ३ हजार भत्तामा गाउँपालिकाबाट थप ३ हजार गरि ६ हजार भत्ता दिने ब्यबस्था मिलाएको स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देल बताउँछन् ।
गाउँपालिका भर माध्यामिक तहकाे शिक्षालाइ आवासिय बनाइ सबैमा सम्मान शिक्षाकाे अवसर प्रदान गर्ने नमुना बिद्यालय बनाउँदै गरेको हेलम्बुले सबै माध्यामिक तहका विद्यार्थी एकै ठाउँमा, हाेस्टेलमा बसेर निशुल्क पढ्ने अवसर दिलाउन लागेको हो । यसका साथै शिक्षक अवकाश कोष तथा शिक्षक स्वास्थ बिमा कार्यक्रम संचालन गरि शिक्षा क्षेत्रमा कृयाशिल सबैको मनोबल उच्च पारिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
अध्यक्ष शेर्पाका अनुसार वडाका घर घरमै काेराेनाबाट वच्न स्वास्थ्य चेकजाँचकाे ब्यवस्था भैइरहेकाे हेलम्बुमा गाउँपालिका प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँचकाे ब्यवस्था शुरु देखिनै स्वास्थ जाँचको ब्यबस्था गरिएको थियो ।
यसका साथै हेलम्बुमा नियमित बिकासका काममा कुनै वाधा पुगेको छैन । बहु चर्चित हेलम्बु ग्रेट ट्रेल लगायत नियमित बजेट अन्तर्गतका बिकासका कामहरू निरन्तर रूपमा सुचारु भैसकेको अध्यक्ष शेर्पा बताउँछन् ।
गतबर्ष पनि बिकासको बजेट अनुसारको काम चैत्रमसान्त भित्रमा सम्पन्न गरि संघीय तथा प्रदेश सरकार बाट तोकिएको समयअगाडि काम सप्पन्न गरेवापत प्रोत्साहन स्वरुप थप बजेट प्राप्त गर्न सफल हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी मुलुकमा प्रतिकुल परिस्थिति सिर्जना हुँदा समेत आफ्ना नागरिकको साथमै रहेर हरेक समस्या समाधानमा साथ दिईरहेका छन् ।
सामुहिक जिम्मेवारी, जन चाहना अनुसारको बिकासका योजना, दृढ इच्छाशक्ति, जनउत्तरदायी नेतृत्व, सचेत र जिम्मेवार नागरिक, आदिका कारण हेलम्बु गाउँपालिका हरेक दृस्ठिकोणबाट अग्रपंक्तिमा आउन सफल भएको छ ।” खाने मुखलाई जुँगाले छेक्दैन”भनेझैं जे जस्तो परिस्थितिमा पनि अविचलित अघि बढेको हेलम्बु अरु स्थानीय तहको लागि समेत उदाहरण बनेको छ ।