फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

अलमलमा अगुवा, निरीह नागरिक
नानू दाहाल
बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रणका लागि नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) गरेको करिब दुइमहिना हुन लागिसकेको छ । एउटा निश्चित गन्तव्य बिनाको यात्रा जस्तो कोरोना संक्रमणको महामारीको उपयुक्त औषधि नभएसम्म यो यात्रा रोकिने अनुमान गर्न सक्ने केहि आधार देखिंदैन ।
यो लकडाउनको अवधिमा के गर्न हुने के गर्न नहुने केहि खास योजना बिना गरिएको बन्दाबन्दिले सर्वसाधारणलाई झन् अन्योलमा पारेको छ । संघीय सरकारले एउटा कुरा भन्दा प्रदेश सरकारले अर्कै भन्छ भने स्थानीय झन आफुखुसी नियम बनाउँछ । यसो गर्दा राज्यकै भरमा परेका सर्वसाधारणको दैनिकी झन कष्टकर बन्दै गएको छ ।
सरकार घरभाडा छुट गर्नुपर्छ भन्छ तर बैंकको ऋणले बनेको त्यो घरको किस्ता घरवाला लाई बैंक ले छुट दिन्छ भन्ने आधार के ? इण्डक्सन चुलो बाले बिद्धुत महसुल छुट दिने भन्छ तर त्यो सेवाग्राहिले इन्डक्सन प्रयोग गरे- नगरेको कस्ले हेर्छ ? अत्यावश्यक सामाग्री भएको पसल खोल्न दिने भन्छ तर कुनचाहिँ पसलमा अनावश्यक सामाग्री राखेको होला र ?
आज खुकुलो भन्या छ , भोलि कडा भन्या छ । एउटा स्थिर निर्णय गरेर त्यसमा अडिग रहनुपर्ने होईन ? जसको हातमा सत्ताको बागडोर छ उसकै निर्णय अडानमा नभएपछी आम नागरिकको के हालत हुन्छ सहजै अनुमान लगाउन सकिन्छ ।
अत्यावश्यक सामाग्रीको लागि खुल्ला गर्ने भनिएको छ तर अत्यावश्यक भित्र के के सामाग्री पर्छन् किटान गर्नु पर्दैन ? पसलमा राखेका सामाग्री कुनै न कुनै बेला अत्यावश्यक ने हुन्छन् नि ! सूचनाको यो दुनियाँमा मोबाईल अत्यावश्यक हो कि होइन ? खाने सामाग्री जस्तै लगाउने लत्ताकपडा,जुत्ता चप्पल आवस्यक होईन र ? खाना बनाउने भाँडाकुँडा आवस्यक होइन ? सर- सफाइका सामान आवस्यक होइनन् ? मानव जिवनसँग जोडिएका सबै वस्तु समयानुकूल आवस्यक हुन्छन् ।
आवस्यक अनावश्यक भन्दापनी प्राय सबै पसलहरु भाडा तिरेरै सञ्चालन गरिएका हुन्छन् । त्यसको जिम्मा कस्ले लिन्छ ? अनि सबै पसलमा केही न केही सामान अवस्य हुन्छन् नै, ती मध्ये कत्तिको प्रयोग गर्ने समयावधि सकिन्छ, कतिको गुम्सिएर नोक्सान हुन्छ त्यति मात्र नभइ मुसा आदि जीव जन्तुले पनि नोक्सान गर्न सक्छन् ।
कुरा सामान्य लागेपनी यस्ता साना कुराले कयौं मानिसको दैनिकीमा प्रभाव पारेको हुन्छ । राज्य संचालन गर्नेले अलि दुरदर्शिता बिचार नगरी हतारमा निर्णय लिंदा सामान्य जीवन यापन गर्ने नागरिकको जिन्दगीको यात्रामै पुर्णविराम लाग्न सक्छ । यश प्रति सम्बन्धित निकाय बेलैमा सचेत हुनु जरुरी छ ।