
जेठ ५ देखी लकडाउनको मोडालिटी परिवर्तन गर्ने उच्चस्तरीय समितिको निर्णय
(काठमाडौँ) – कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले जेठ ५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लक डाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए । जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
सचिव विडारीले लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आईडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय भएको बताए । चार्टड फ्लाइटको खर्च कसले व्यहोर्ने भन्ने विषयमा उनले केही बताएनन् ।
समितिले शुक्रबार स्वास्थ्यक्षेत्रका विभिन्न विज्ञहरुसँग गरेको छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् । आत्तिनुपर्ने अवस्थामा नभए पनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव पनि दिइएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले बताए ।