माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण के हो ? – सर्वोच्च

होला महाभारत !
पारसनाथ आचार्य
आफ्नो स्वार्थ निमित्तमा प्रिय हुँदै आए गला जोडिन
माटो निम्ति सधैं दुबै मुलुकको गिद्धे छ आँखा किन?
हाम्रो यो लिपुलेक लुट्न सुरिने हे चीन हे भारत
गोर्खाली बलिदान औ रगतको खोज्नु स्वयं तागत।।१
कैले बाँध कसेर हेर्छ रमिता बन्दै स्वयं बाधक
कस्ता क्षुद्र बने सिमातिर दुवै हाम्रा छिमेकी सब।
बर्षै साल सरे सयौं दशगजा कैयौं भए गायब
हेर्ला विश्व समाजले दशगजा नेपालको भू अब।।२
साँच्चै क्रूर भए छिमेक दिनहुँ पार्दैछ अत्यासमा
नाकाबन्द समुद्रसम्म नहुदा बस्छौँ सधैँ त्रासमा।
यस्तो सङ्कटमा कठोर मनले माटो चोरी दिन्छ जो
ढर्रा स्वाङ छ स्वार्थ वा कपटको देखावटी मित्र हो।।३
बोली मात्र मिठो कठोर मनको हाम्रो छिमेकी रिपु
ब्वासो भारत भो छ चीन ननिको लुछ्दै गयो झन् लिपु।
नेपाली बलिदान विश्वभरमा देखिन्छ यो प्रष्ट छ
हाम्रो यो मुटु रेट्न खोज्दछ अहो!पाजी छुसी भारत।।४
नाका बन्द गर्यो लुकेर जहिल्यै पार्दै छ आतङ्कित
गर्दै सन्धि अनेक तुच्छ अहिले झम्टिन्छ हामीसित।
माओवाद जपेर चीन छलले सीमा लुट्यो प्रष्ट छ
गान्धीवाद भजेर विश्वभरमा फुर्ती नगर् भारत।।५
माटो जीवन हो विशुद्ध पनकै आस्थाहरूको भर
आफ्नो भूमि निमित्त बुद्ध जनले गर्छन् सधैँ आदर।
माटो लुट्न तयार दानव जसै गड्कन्छ धिक्कार छ
तिम्रो दुष्टपना पुग्यो शिखरमा होला महाभारत।।६
इन्द्रावती ५,सिन्धुपाल्चोक