
बालुवाटारमा महेश बस्नेतको नो इन्ट्री
(काठमाडौं) – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनकै गुटका महेश बस्नेत टाढिएका छन् । महेश बस्नेतलाई राजनीतिमा स्थापित गराउने काम ओलीले नै गरेका हुन् । २०६४ को चुनावमा माओवादी ठूलो शक्तिका रुपमा उदय भयो भने एमाले तेस्रो शक्तिका रुपमा अति कमजोर हुनपुग्यो । माओवादी सत्तामा आएपछि वाइसीएलसँग जुध्नका लागि उनलाई युथफोर्सको अध्यक्ष बनाइयो । तर युथफोर्स अध्यक्ष भएपछि उनी तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनालले दिएका निर्देशन समेत टेर्न छाडे । त्यतिबेला उनले ओलीको संरक्षण पाए । र, सिराहामा भएको युवासंघको महाधिवेशनमा महासचिवको आशा गरेकोमा ओलीले नै उनलाई अध्यक्ष उम्मेदवार बनाए । लामो समय युवासंघको नेतृत्व गरेका इन्द्रलाल सापकोटा पराजीत भए । महेश बस्नेत बिजयी भए । महेश बस्नेतलाई सबै शक्ति परिचालन गरी अध्यक्षका रुपमा अगाडि बढाउने काम ओलीले गरेका थिए ।
युथफोर्समा कुशल भूमिका निभाएबापत ओलीले उनलाई चुनाव हारेका भए पनि उद्योग मन्त्री बनाइदिए । र, मन्त्री बनाएपछि उनको छवि राजनीतिक बन्न पुग्यो । फलस्वरुप उनी २०७४ को निर्वाचनमा भक्तपुरबाट भारीमतका साथ प्रतिनिधिसभामा निर्वाचित हुन सफल भए । बस्नेतलाई ओलीले युवासंघको अध्यक्षदेखि चुनाव हारे पनि मन्त्री बनाएर राजनीतिमा स्थापित गरेका हुन् । तर पछिल्लो समय उनी प्रधानमन्त्री ओलीकै बिरुद्ध अभिब्यक्ति दिन थालेका छन् ।
उनी प्रधानमन्त्री ओलीसँग पछिल्लो समय टाढिन पुगेका छन् । ओली प्रधानमन्त्री भएपछि उनी मन्त्री हुने चर्चा पटक पटक चल्यो । पछिल्लो पटक मन्त्रिपरिषद बिस्तार हुँदा बस्नेतले आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुुने चर्चा पनि चलाए । तर पाँचथरका वसन्तकुमार नेम्वाङ भौतिक मन्त्री बने । पछिल्लोपटकको मन्त्रिपरिषद बिस्तारमा पनि पर्न नसकेपछि महेश बस्नेत प्रधानमन्त्री ओलीको बिरुद्ध अभिब्यक्ति दिन थालेका छन् । प्रधानमन्त्रीको सल्लाहकार टीम परिवर्तन गर्नुपर्ने उनले दिएको अभिब्यक्तिले नेकपाभित्र पनि तरंग ल्यायो ।
सरकारले काम गर्न नसकेकोबारेमा बस्नेतले भनेका थिए–‘सल्लाहकार र सचिवालयमा जनतासँग नभिजेको, जनताबाट म्यान्डेट नपाएको टिम भएका कारण जनता र प्रधानमन्त्रीबीचको सम्बन्ध सुमधुर बनाउनुपर्ने च्यानल नै व्यवस्थित हुन सकेन । त्यसकारण जनताका कुरा, जनप्रतिनिधिका कुरा नै प्रधानमन्त्रीकहाँ पुग्न सकेन ।’ नेकपा नेतृ रामकुमारी झाँक्रीकै तहमा ओर्लेर सल्लाहकार हटाउनुपर्छ भन्ने अभिब्यक्तिले बस्नेत बालुवाटारबाट धेरै टाढा पुगिसकेको निष्कर्ष निकाल्न थालिएको छ ।
सल्लाहकार फेर्नुपर्ने महेश बस्नेतहरुको भनाइलाई जवाफ दिंदै प्रधानमन्त्री ओलीले मंगलबार एक अनलाइनलाई दिएको अन्तर्वार्तामा भनेका छन्– ‘मेरो सचिवालयको विरुद्ध त शुरूदेखि नै हमला छँदैछ । किनभने सचिवालयमा भएपछि मलाई सहयोग गर्नु स्वाभाविकै हो । मन्त्रिपरिषद्मा भएपछि मन्त्रीहरूले मलाई सहयोग गर्नु स्वाभाविकै हो । मेरा सहयोगीहरूमाथि हमला शुरूदेखि नै भइरहेकै हो । मेरो सचिवालयका सदस्यहरूको डिफेन्ड गर्यो भन्लान्, तर म के ठान्छु भने मेरो सचिवालयका सदस्यहरू त्यति कमजोर छैनन् कि मैले ढाल बनिदिनुपरोस्, मैले डिफेन्ड गर्नु परोस् । तर, म कतिमात्रै भन्छु भने यो त मलाई सहयोगी हात बढाउने, मलाई सहयोग गर्ने, समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यमा समर्थन वा सहयोग गर्नेहरूमाथि केही तत्वहरूको निरन्तरको र निराधार हमला सदावहार रूपमा चलेकै छ । मैले त्यतिमात्रै भन्न खोजेको हो ।’
राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभाको रिक्त एक सिटमा वामदेव गौतमलाई मनोनीत गर्ने निर्णय नेकपाको सचिवालयले गर्यो । त्यो निर्णय प्रधानमन्त्री ओलीले कार्यान्वयन नगर्ने भनेपछि नेकपाभित्र विवाद निम्तियो । डा. यवराज खतिवडालाई नै पुनः मनोनीत गर्ने अडान ओलीले लिए । यस प्रकरणमा पनि बस्नेतले वामदेव गौतमलाई नै राष्ट्रियसभामा लानुपर्ने र प्रधानमन्त्री नै बनाउनुपर्ने अभिब्यक्ति दिएका थिए । यसअघि केन्द्रीय समितिको बैठकमा एमसीसी जस्ताको तस्तै कमा र फुलिस्टप समेत परिवर्तन नगरी पारित गर्नुपर्छ भन्ने ओली पक्षका केन्द्रीय सदस्यहरुले बोले । ओलीइतर पक्ष भनेर चिनिएका पर्यटन मन्त्री योगेश भट्टराईले समेत एमसीसी पारित गर्नुपर्ने पक्षमा बोले । तर महेश बस्ने एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसकिने, सर्तहरु संशोधन गरी पारित गर्नुपर्ने तर्क राखेका थिए ।
यसरी महेश बस्नेत एकपछि अर्को सरकारबिरुद्ध अभिब्यक्ति दिदैआएका छन् । उनी प्रधानमन्त्री ओलीसँग डेढ बर्षअघि नै टाढिएको उनीसँगै काम गरेकाहरु बताउँछन् । डेढ बर्षदेखि नै बस्नेतको प्रधानमन्त्री निवासमा आउजाउ बन्द छ ।
बस्नेतसँग किन चिढियो बालुवाटार ?
पार्टी नेतृत्वदेखि युवासंघमा समेत खेल्ने र एकअर्कालाई जुधाउने गर्दैआएका बस्नेतले २०७४ को प्रतिनिधिसभामा निर्वाचित भएपछि प्रधानमन्त्री ओलीको नाम बेचेर धेरै लाभ लिएको सूचना बालुवाटारमा पुग्यो । ओलीको सबैभन्दा निकट हुँ भनेर मन्त्रालयका सहसचिव, सचिव, आयोजना प्रमुखहरुलाई थर्काएर आफ्नो क्षेत्रमा बजेट हाल्न दबाब दिने गरेको कुरा पनि बालुवाटारमा पुगेको छ ।
ठेक्कापट्टाहरुमा प्रधानमन्त्रीको नाम लिंदै दबाब दिने गरेको सूचना पनि ओलीले पाए । सबैभन्दा महत्वपूर्ण कुरा त सरकारको एकोहोरो बिरोध गरिरहेका मिडियामा उनले प्रधानमन्त्रीका सल्लाहकार ठीक भएनन् भनेर दिएको अभिब्यक्तिका कारण बालुवाटार चिढिन पुगेको बताइन्छ ।
त्यसैगरी प्रधानमन्त्री ओलीको नाम लिएर भक्तपुर नेकपामा धेरै दुःख गरेका नेता राजेन्द्र राजथलाहरुको राजनीति समाप्त पार्ने काम गरेको सूचना पनि ओलीसम्म पुगेकै थियो । स्थापित युवानेता दीपक थापा बस्नेतकै कोपभाजनमा परी युवासंघको केन्द्रीय सदस्यसमेत बन्न पाएनन् । यसरी पार्टीभित्र ब्यक्तिवादी प्रवृत्तिबाट अगाडि बढ्ने र पार्टीको निर्देशन नटेर्ने उनको प्रवृत्ति विकास हुँदैआएको निचोड ओलीले निकालेकाले उनलाई विश्वास गर्न छाडे । उनका नजिकका भनिएका परशुराम बस्नेतसँग समेत अहिले उनको दुस्मनी बढेको छ । उनको बैरभाव यति बढेको छ कि उनलाई मन्त्री बनाए पत्रकार सम्मेलन गरेर उनका कर्तुत सार्वजनिक गर्ने धम्की परशुरामले दिएको कुरा पनि सार्वजनिक रुपमा आइसकेको छ ।
एमाले–माओवादी एकता नहुँदै युवासंघको अध्यक्षबाट बीचमै रमेश पौडेललाई हटाई किरण पौडेललाई बनाउन खोजे । जसका कारण बस्नेतलाई नेता मान्ने ठूलै समूह उनीसँग चिढिन पुगेको थियो । बस्नेतले सशस्त्र प्रहरी बलबाट १ भान्से र दुई अगुवा पछुवा सुरक्षाकर्मी लिएर राजसी सानसौकत देखाउने गरेकोबारेमा प्रधानमन्त्रीकोमा सूचना नपुग्ने कुरै भएन । उनले प्रधानमन्त्री ओलीको नाममा धेरै लाभ लिएको बालुवाटारको ठहर छ । उनको पहिलाको अवस्था र हालको सानसौकत र बैभव देखेर उनलाई नजिकबाट चिन्नेहरु नै चकित पर्ने गरेका छन् । महेश बस्नेतका यी सबै गतिबिधि नियालेपछि उनलाई डेढ बर्षदेखि बालुवाटार प्रवेशमा रोक लगाइएको स्रोतले बताएको छ ।