Madhyabindu News App
मुख्य खबर​

कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककि महिला सँगै अस्पतालमा बसेकालाई संक्रमण

मृतक महिलाको शिशु तथा श्रीमानको रिपोर्ट भने नेगेटिभ

Madhyabindu Online


A A- A+

(काठमाडौं) – टोखा नगरपालिकामा सोमबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू ३ र ६ नम्बर वडाका बासिन्दा हुन् ।

सोमबार देखिएका दुइजना संक्रमितमध्ये एक जना कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोककी महिलासँगै त्रिवि शिक्षण अस्पतालमा बसेका व्यक्ति रहेको खुलेको छ ।

टोखा नगरपालिका ३ नम्बर वडाध्यक्ष सिंहराज श्रेष्ठका अनुसार  सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएपछि उनीहरू वडामा आएका थिए । उनले भने, ‘अस्पतालमा सँगै बसेको बताएपछि जेठ ७ गते स्वाब संकलन गरी पठाएका थियौं ।’ संक्रमितको ५ जनाको परिवार मध्ये ३ जनाको स्वाब संकलन गरेर पठाउँदा एक जनामा पोजिटिभ देखिएको अध्यक्ष श्रेष्ठले बताए ।

त्यसैगरी अर्का संक्रमित किराना पसल सञ्चालक रहेको टोखा नगरपालिका ६ नम्बर वडाध्यक्ष महेश्वर केसीले बताए । लकडाउनको अवधिमा पनि पसल सञ्चालनमै राखेका ती व्यक्तिको परिवारमा श्रीमती र ६ महिनाको बच्चा भएको अध्यक्ष केसी बताउँछन् ।

संक्रमित दुवैलाई अस्पताल पठाई कन्ट्याक्ट ट्रेसिङ सुरु गर्न लागिएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव कोषविलास बगालेले बताए । टोखा नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालक तथा जनप्रतिनिधि गरी ३ सय ६ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो ।

यसैबीच मृतक महिलाको नवजात शिशु तथा उनको श्रीमानको भने पिसिआर रिपोर्ट आएको थियो । गत हप्ता मात्रै नेगेटिभ रिपोर्ट आएपछि धुलिखेल अस्पतालले उनिहरुलाई डिस्चार्ज गरेको थियो ।

छुटाउनु भयो कि ?