Madhyabindu News App
स्वास्थ्य

होम क्वारेन्टाइनमा बसेकी गर्भवती महिलाको मृत्यु

Madhyabindu Online

(सप्तरी) – कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकी १८ साताकी एक गर्भवती महिलाको मंगलबार बिहान मृत्यु भएको छ।    अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याले ग्रसित सप्तरीको कञ्चनरुप-११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवतीको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य उपचारका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला उनको मृत्यु भएको हो । उनलाई १० दिनदेखि लगातार  ज्वरो आइरहेको थियो । गत बिहीवार मात्रै उनलाई राजबिराज स्थित डा. विनिता यादवको क्लिनिकमा उपचार गराइ फलोअपमा बोलाइएको थियोे ।

चिकित्सकले पिसाबको संक्रमण (यूटीआई) को औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । वैशाख २८ गते उनको घरबाट नन्दको विवाह समेत भएको छ ।

कोरोना संक्रमणसित मिल्ने लक्षणहरु देखिएको र होम क्वारेन्टाइनमा रहेकीले मृतकको स्वाब लिने तयारी भइरहेको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत डम्बर महतोले बताए ।

महतोले मृतकको स्वाब संकलनको रिपोर्ट नआउञ्जेल दाहसंस्कारका लागि प्रतिक्षा गर्नु उपयुक्त हुने बताए । शव व्यवस्थापन निर्देशिका अनुसार दाह संस्कार गर्न वा स्वाब परीक्षणको पीसीआर रिपोर्टको प्रतिक्षा गर्न घरपरिवारसँग सल्लाह गरिने उनले बताए ।

गर्भवतीले वैशाख २५ गते प्राथमिक स्वास्थ्य केन्द्रमा खोप समेत लगाएकी थिइन् । विवाह दर्ता र नागरिकता समेत नबनाएकी मृतकको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् ।

Tags

छुटाउनु भयो कि ?