
घरभाडा र कर छुट गर्न व्युटिसियन संघको माग
(काठमाडौ) – नेपाल व्युटिसियन संघले लकडाउन भरको व्युटिपार्लर व्यवसायको घरभाडा र वार्षिक करमा एक वर्षको छुट दिनु पर्ने माग गरेका छन् । संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
संघका केन्द्रीय अध्यक्ष भगवती खड्काद्घारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – ” दुई महिना भन्दा बढी भएको लकडाउनले व्युटिपार्लर पेशा अस्तव्यस्त भएको छ । अझै कति लकडाउन हुने हो थाहा छैन त्यसैले सरकारले यस पेशा र श्रमिकको संरक्षण गर्न विशेष राहत प्याकेज ल्याउनु पर्छ ।” चरम समस्या भएको लामो समय भईसक्दा समेत सरकारबाट अहिले सम्म केहि सम्बोधन नगरिनु संविधानमा उल्लेख भएको समाजवाद उन्मुख राष्ट्र हुने छ भन्ने व्यवस्थाको खिल्ली उडाएको संघको बुझाई छ ।
यसैगरी व्युटिपार्लर पेशा व्यवसायलाई पुनर्जीवित गर्न सरकारले विशेष राहत प्याकेज , निर्व्याज लोन, बैंकको किस्ता ६ महिनापछि तिर्ने गरि व्याजमा छुट गर्नु पर्ने, स्वरोजगार र अनौपचारिक क्षेत्रलाई यथाशीघ्र सामाजिक सुरक्षामा आबद्ध गराउनु पर्ने, लगायत माग विज्ञप्ति मार्फत गरिएको छ ।
यसैगरी व्युटिसियनहरुको पन्जिकरण गर्नु पर्ने र कार्ड दिई सोहि कार्डबाट राहत पाउनु पर्ने, राज्यको हरेक तहमा युनियनको प्रतिनिधित्व गराई रोजगारी सृजना र क्षमता विकासमा आबद्ध गराउनु पर्ने, स्वास्थ्य सुरक्षा सामाग्रीको उपलब्ध गराउनुकासाथै यस पेशाको संरक्षणकालागी सबै तहका सरकारले बजेटमै कार्यक्रम ल्याउन जोडदार माग गरेका छन् ।