विचार-ब्लग

क्रान्ती सुरु गरौं !

Madhyabindu Online


A A- A+

राज कुमार भट्टराई 

कोविड – १९ बाट यो जगत नै आक्रान्त भएको बेला नेपालले पनि कछुवा गतिमा जुध्ने प्रयत्न गरिरहेको छ । यस महामारीसँगै हजारौंको रोजीरोटी गुम्नेवाला छ । साना–ठूला कल–कारखाना, उद्योग–व्यवसायलाई नराम्ररी थिलथिल्याउने छ । अझ हाम्रो जस्तो रेमिट्यान्समुखी अर्थतन्त्र भएको देशलाई यसले ठूलो पिडा दिनेछ ।

यस्ता माहामारीसँगै विश्वमा विभिन्न चेतनाहरू पलाएका थिए र त्यस्ता चेतनालाई परिवर्तनका संवाहकहरूले सुनौलाअवसरमा रुपान्तरण गरेका थिए । आज हाम्रो देश र समाजमा पनि यो माहामारीसँगै विभिन्न परिघटनाहरू देखा परेका छन् । जुन घटनाहरूले हाम्रो राजनैतिक र आर्थिक व्यवस्थामाथि नै आंैला उठाइरहेको छ । २००७ सालदेखि २०६२/०६३ को आन्दोलनसम्म आइपुग्दा स्वतन्त्रता, सामाजिक चेतना र समावेशीकरणमा ठूलो फड्को मारेको कुरा अकाट्य छ तर जसरी यी परिवर्तनसँगै आर्थिक सवलीकरण हुनुपर्ने थियो त्यो नभएकोमा रतिभर दुविधापनि छैन ।

यो माहामारी जस्तो भविष्यमा आइलाग्ने अरु विभिन्न विपदहरूसँग डटेर लड्नका लागि एउटा क्रान्ती सुरु गरौं । जुन क्रान्तीमा कुनै रगत वग्नेवाला छैन । पसिनाको सुगन्धले सिञ्चित हुनेछ । यो क्रान्तीमा ठूला–ठूला सिद्धान्त र वादहरू प्रयोग हुने छैनन केवल हाम्रो मौलिकता र केही विषयगत ज्ञान प्रयोग हुनेछ । यो क्रान्ती कुनै दिवा सपना वा मनगणन्ते विपना जस्तो हुनेछैन बरु आफैंबाट निर्देशित हुनेछ । हाम्रो माटो सुहाउँदो हुनेछ र पूर्ण आत्मसम्मान मिल्नेछ । तर, यसले ठूलो उथलपुथल ल्याउने छ ।

हामी नेपालीमा पनि कोरोना माहामारीसँगै कयौं सोच, विचार , व्यवहार, र चेतनामा परिवर्तन आएको छ । विदेशमा भएका लाखौं नेपाली आफ्नै देश फर्कन आतुर छन्, रोजीरोटीका लागि सहर पसेकालाई आफ्नै जन्मस्थानमा केही गर्ने रहर पलाएको छ । वल्लो गाउँ पल्लो गाउँ भनि तितरवितर भएका परिवारजनलाई अपनत्व चाहिएको छ । यी दृष्टान्तहरूले के संकेत गरिरहेका छन् भने आफ्नो उद्गमस्थल सबैलाई प्यारो हुन्छ र अन्तिम समयमा मानिसले त्यही परिवेशलाई सबैभन्दा आफ्नो ठान्दछ । माथि उल्लेख गरे झैं अब लाखौं नेपालीहरू स्वदेश फर्कने क्रम सुरु भैसकेको छ । कुनै व्यक्ति विदेशबाट फर्कनु भनेको उसको भौतिक शरीरमात्र फर्कनु होइन । उसले त्यहाँ सिकेको ज्ञान, सिप, कला, दुःख, सफलता र सपना पनि सँगै आउनु हो । त्यसैले क्रान्ती सम्भव छ र यो एउटा संयोगले जुराइदिएको दुर्लभ अवसर पनि हो ।
नेपालमा अनेकौं व्यवस्था र धेरै सत्ता परिवर्तनहरू भए तर आममानिसको जीवनयापनमा उल्लेखनिय परिवर्तन भएको छैन । यसको एउटा मूख्य कारण हामीले राजनैतिक परिवर्तनमा धेरै समय खर्चियौं तर आर्थिक क्रान्तीको वास्ता गरेनौं । सधैं सजिलै प्राप्तहुने वस्तुमा ध्यान दियौं । कठोर साधनाले पाइने आविस्कार, दिगो विकास र उत्पादनमा ध्यान पुर्‍याउन सकेनौ । जसको नियती आज हामी भोग्दै छौं ।

आज सात समुद्र पारीबाट लाखौं युवा आफ्नो देश फर्कँदै गर्दा एउटा सामूहिक दृढ ईच्छाशक्तिको आवश्यकता छ । जुन इच्छाशक्ति आर्थिक क्रान्तीको मियो बनोस् । आफूले विदेशमा सिकेका ज्ञान आफ्नो मातृभूमिमा प्रयोग गर्ने यो एउटा अवसर जुटोस् । हामीले दक्षिण कोरियाको विकास आँखै अगाडि देखेका छौं । जापानको शक्तिशाली उदय देखेका छौं । यी दृष्टान्तहरूले के भन्दछ भने अभावमा नै सृजनाहुने हो र भोकले नै संघर्ष गर्ने हो ।

त्यसैले हामी सबैमिली एउटा अर्काे आर्थिक क्रान्ती गर्न नितान्त आवश्यक छ । राज्य संचालनमा अहिले देखिएका अनेकौं त्रुटिहरू त्यसै हटेर जाने छैनन किनकि इतिहासले बताइसकेको छ – शासन सत्ताको बागडोर समात्ने मान्छेहरू प्रायःअन्धो हुन्छन् । उनीहरूलाई सत्ता र शक्ति नै सम्पूर्ण यथार्थता अरु सबै भ्रम हुने गर्दछ । त्यसैले हामीले खाइ–नखाई गरी तिरेको कर र विदेशबाट पठाएको रेमिट्यान्सले सिमित मान्छे र शासकहरूले चैन गर्न नपाउन् भन्नेमा हामी सचेत हुनुपर्दछ । यी रकमहरू देशको आर्थिक विकासमा प्रयोग हुनुपर्छ भन्ने बुलन्द आवाज चाहिएको छ ।

कोरोनाले गर्दा दशौं लाख युवा फेरी देशमा जम्मा हुँदैछन् । अब, यो शक्तिले आर्थिक क्षेत्रमा कायापलट गर्ने जमर्काे गर्नै पर्छ । यो र त्यो नाममा यिनलाई विभाजित गर्न अनेकौं शक्तिलाग्न सक्छन् तर यिनले बुझिसकेका छन्ं फेरी कसैलाई सत्ता र शक्तिमा पु¥याउन हामीप्रयोग हुने छैनौं । हामी केवल आफ्नो पेट आफैं पाल्नको लागि यो मातृभूमिमा आफ्नो ज्ञान, सिप, र कलालाई प्रस्तुत गर्न चाहन्छौं । तर यसको लागि राम्रो वातावरण सृजना भएन भने, फेरी छल–कपट र मनोमानी भयो भने यी दशौं लाखयुवाहरूले यो व्यवस्था नै उथलपुथल पार्नेमा कुनै शंका छैन ।

विदेशबाट आउने एउटा कर्मठ शक्ति र नेपालमा केहीगर्नु पर्छ भन्ने अर्काे शक्तिबीचतालमेलको आवश्यकता छ जसले यो जटिल परिस्थितिमापनि एउटा सुनौलो इतिहास बनाउन सक्नेछ । यसको लागि सरकार, नागरिक समाज, व्यापारिक कुलघरानाहरूले विशेष ध्यानदिनु पर्दछ । स्वदेशमा रहेका र विदेशबाट फर्किएका कर्मठ हातहरूको एउटा विषयगत कौशलताको आधारमा तथ्याङ्क बनाउनुपर्दछ र त्यो ठूलो कर्मशिलजत्थालाई आर्थिक प्याकेजको घोषणा गरी आर्थिक गतिविधिका सङ्लग्न गराउनुपर्दछ । । यो सुरुका दिनहरूमा जटिल जस्तो देखिन सक्छ तर विस्तारै मूर्तरुप लिदै जान्छ र यो नै आर्थिक क्रान्तीको शुरुवात हुनेछ । जसले परनिर्भरता घटाउंदै लानेछ क्रमशः रोजगारी सृजना गर्नेछ अनि विस्तारै सुरु हुनेछ समद्धीको यात्रा !