
दंगा र लुटपाट नियन्त्रण गर्न सेना र प्रहरी परिचालन गर्ने ट्रम्पको घोषणा
(काठमाडौं) – अमेरिकका राष्ट्रपति डोनल्ड ट्रम्पले विभिन्न सहरमा जारी दङ्गा र लुटपाट जस्ता क्रियाकलाप अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन् ।
नियन्त्रणमा लिने क्रममा अध्याधिक बल प्रयोगका कारण मारिएका अफ्रिकी मूलका जर्ज फ्लोइडको मृत्युको विरोधमा साता दिनदेखि अमेरिका प्रदर्शन जारी छ । शान्तिपूर्ण भनिएका प्रदर्शनहरूले हिंसात्मक रूप लिन थालेपछि त्यहाँका कयौं शहरमा कर्फ्यू लगाइएको छ ।
प्रहरी हिरासतका क्रममा जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् । ट्रम्पले वासिङ्टनको कर्फ्यूलाई अझ कडा पारिने समेत बताएको बीबीसीले उल्लेख गरेको छ ।
टेलिभिजन मार्फत् सम्बोधन गर्दै उनले भने, ‘दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो गर्छु ।’
ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मीसाथ पैदल गएका थिए । उक्त गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो ।
ह्वाइट हाउस बाहिर प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको थियो । ट्रम्पले देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई आह्वान गरेका छन् । भिडिओ सम्मेलनमा ट्रम्पले दशकौंमा भएको एकदमै खराब अशान्त अवस्थाका माझ गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको बताएका हुन् ।
यसैबीच, न्यूयोर्कका गभर्नर एन्ड्रयू कोमोले हिंसा हुन नदिन भन्दै न्यूयोर्कमा राति ११ बजेबाट कर्फ्यू लाग्ने घोषणा गरेका छन् । फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन् ।