Madhyabindu News App
अन्तर्राष्ट्रिय

चीनका ४० प्रतिशत भन्दा बढी सिनेमाघर बन्द हुन सक्ने

Madhyabindu Online

(काठमाडौं) – चिनियाँ चलचित्र संघले चीनका ४० प्रतिशत भन्दा बढी सिनेमाघरहरू बन्द हुन सक्ने जनाएको छ । आर्थिक कारणले चीनका ४० प्रतिशत भन्दा बढी सिनेमाघरहरू बन्द हुन सक्ने संघले सार्वजनिक गरेको एउटा प्रतिवेदनले औँल्याएको छ ।

कोरोना भाइरस महामारीका कारण हाल अस्थायी रूपमा बन्द रहेपनि दर्शकहरूलाई सिनेमाघरसम्म जान प्रेरित गर्न संघर्ष गर्नुपर्ने संघको आकलन छ । सिनेमाघर बन्द भएपनि सहजै रुपमा स्ट्रीमिङ सेवा उपलब्ध भएपछि लाखौँ चिनियाँ नागरिकले अनलाइन मार्फत चलचित्र हेरेर मनोरञ्जन लिएका छन् ।

फलस्वरूप धेरै सिनेमाघरहरू स्थायी रूपमा बन्द हुन सक्ने एक चिनियाँ व्यापार विज्ञको अनुमान छ । बीबीसीका अनुसार एउटा अनुसन्धान संस्था आइबीआइएस वल्र्ड अनुसार चीनमा हाल १२ हजार भन्दा बढी सिनेमाघर छन् ।

चलचित्र हेर्ने प्रवृत्ति बढेसँगै पछिल्लो दशकमा दुई गुणाले सिनेमाघरको संख्यामा वृद्धि भएको अनुमान छ । तर चिनियाँ चलचित्र संघको सर्वेक्षण अनुसार प्रत्येक १० वटामध्ये चार वटा सिनेमाघर निकट भविष्यमा बन्द हुन सक्छन् । यसको अर्थ हो कोरोना भाइरस महामारीको असरबीच आर्थिक कारणले करीब पाँच हजार सिनेमाघर बन्द हुन सक्छन् ।

चीनमा क्रमिक रूपमा लकडाउन हटाउँदै लग्ने क्रममा सबैभन्दा अन्त्यतिर खुल्नेमा सिनेमाघरहरू पनि छन् । चिनियाँ सरकारका अनुसार निश्चित बुकिङ गर्न दिएर सिनेमाघर सहित अन्य मनोरञ्जनस्थल पुनः खोल्न पाइने बीबीसीले उल्लेख गरेको छ । चिनियाँ चलचित्र संघका अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा सिनेमाघरहरूको आम्दानीमा ठूलो गिरावट देखिएको छ ।

पाँच सयभन्दा कम सीट क्षमताका साना सिनेमाघरहरू बढी प्रभावित भएका छन् । गत वर्ष सोही अवधिमा उनीहरूले गरेको आम्दानीको १० प्रतिशत मात्रै अहिले कमाउन सकेका छन् । गत वर्ष चिनियाँ सिनेमाघरहरूले टिकट विक्रीबाट ६४.२ अर्ब युआन कमाएका थिए ।

Tags

छुटाउनु भयो कि ?