Madhyabindu News App
अन्तर्राष्ट्रिय

दक्षिणसँग सबै सञ्चार सम्पर्क बन्द गर्ने उत्तर कोरियाको चेतावनी

Madhyabindu Online

(काठमाडौं) – उत्तरले दक्षिण कोरियासँग दुई देशका नेताहरूबीचको हटलाइन लगायत सबै सञ्चार सम्पर्क बन्द गर्ने बताएको छ । दक्षिण कोरियालाई शत्रु भन्दै उत्तर कोरियाले सञ्चार सम्पर्क बन्द गर्नुलाई आफूले थालेको कारबाहीको पहिलो कदम भनेको छ ।

मंगलबारबाट उत्तर कोरियाको सीमा शहर केसोँग स्थित दुई देशका सम्पर्क कार्यालयमबीच हुँदै आएको नियमित दैनिक सञ्चार सम्पर्क बन्द भएको छ । सन् २०१८ मा भएको वार्तापछि दुई देशले आपसी तनाव कम गर्ने उद्देशयका साथ त्यस्तो सम्पर्क कार्यालय स्थापना गरेका थिए ।

दुई देश प्राविधिक रूपमा अझै युद्धमै रहेका छन् । सन् १९५३ मा समाप्त भएको कोरियाली युद्धपछि दुई देशबीच कुनै शान्ति सम्झौता भएको थिएन । एक कोरियाली समाचार संस्था केसीएनएका अनुसार उत्तर कोरियाले ’सन् २०२० जून ९ को १२ बजेदेखि उत्तर–दक्षिण संयुक्त सम्पर्क कार्यालय मार्फत् दुवै देशका अधिकारीबीच स्थापित सञ्चार सम्पर्क पूर्ण रूपमा बन्द गर्ने छ ।’

बीबीसीका अनुसार उत्तर कोरियाले सैन्य सञ्चार सम्पर्क प्रणाली पनि बन्द गर्ने बताएको छ । ज्यानुअरीमा कोभिड–१९ का कारण सम्पर्क कार्यालय अस्थायी रूपमा बन्द हुँदा पनि फोनमार्फत् दुई देशबीचको सम्पर्क कायमै थियो । दुवै देशले बिहान ९ र बेलुकी ५ बजे उक्त सम्पर्क कार्यालयमार्फत् फोन वार्ता गर्ने गरेका थिए ।

सोमवार दक्षिण कोरियाले २१ महिनामा पहिलो पटक बिहानको समयमा हुँदै आएको फोन सम्पर्क हुन नसकेको बताए पनि अपराह्नमा भने फोन सम्पर्क भएको थियो ।

Tags

छुटाउनु भयो कि ?