Madhyabindu News App
अन्तर्राष्ट्रिय

कोरोना प्रकोप : भारतमा एकैदिन २ हजार बढीको मृत्यु

Madhyabindu Online

(काठमाडौं) – कोरोना भाइरसको संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा २ हजार भन्दा बढीको मृत्यु भएको छ । कोरोनाका कारण गत २४ घण्टामा भारतमा २ हजार ३ जनाको मृत्यु भएको हो ।

बुधबार साँझसम्म त्यहाँ कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ लाख ५४ हजार ६५ पुगेको छ । तीमध्ये झन्डै १ लाख ८७ हजार जना भाइरसमुक्त भएको भारत सरकारले पुष्टि गरेको छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । अमेरिका, ब्रजिल, र रुसपछि भारतमा सर्वाधिक संक्रमण देखिएको छ । अहिले भारतमा कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले हप्तौँ लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ ।

प्रतिबन्धहरू खुकुलो पारिँदा संक्रमण नियन्त्रण गर्न गाह्रो हुने विज्ञहरूले बताएका छन् । महाराष्ट्र राज्यमा सर्वाधिक संख्यामा संक्रमित फेला परेका छन् । त्यहाँ संक्रमितको संख्या एक लाख १३ हजार ४ सय ४५ पुगेको छ ।

दिल्लीमा ४४ हजार ६ सय ८८, गुजरातमा २५ हजार ५ सय ७७, मध्य प्रदेशमा ११ हजार ८३, राजस्थानमा १३ हजार २१६ जनामा संक्रमण देखिएको छ ।

Tags

छुटाउनु भयो कि ?