Madhyabindu News App
स्थानीय तह

इन्द्रावतीको निति तथा कार्यक्रम सार्वजनिक, कृषिलाई विशेष जोड

जिल्लामै पहिलोपटक आवधिक योजना निर्माण

Madhyabindu Online

(सिन्धुपाल्चोक) – स्थानीय तहमा व्यवस्थित रुपमा विकास निर्माणका काम अघि बढाउन जिल्लामै पहिलो पटक इन्द्रावती गाउँपालिकाले आवधिक योजना निर्माण गरेको छ। जिल्लाका १२ स्थानीयतहमध्ये सरोकारवाला र विज्ञको सुझावलाई समेटेर पञ्च वर्षीय आवधिक योजना सार्वजनिक गरेको हो।

पाँच वर्षभित्र गाउँपालिकाको विकास निर्माणका कस्ता योजना समावेश गर्ने भन्ने अवधारणाका साथ आवधिक योजना निर्माण गरेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए। गाउँ पालिका महासंघका महासचिव समेत रहेका अध्यक्ष तामाङले पालिकालाई समृद्धिको बाटोमा अघि बढाउन पञ्च वर्षीय आवधिक योजनालाई अघि सारेको जानकारी दिए।

आवधिक योजना निर्माणले आगामी पाँच वर्षमा इन्द्रावतीको अवस्था कस्तो बनाउने भन्ने खाका कोरेको वडा नम्बर १० का अध्यक्ष जीवन थापामगरले जानकारी दिए।

आवधिक योजना सार्वजनिकसँगै गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ८३ करोड ५० लाख दुई हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाले ५६  करोड ९६ लाख पूँजीगत तथा २६ करोड २४ लाख रुपैया चालु खर्च हुने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन्। लामाले सात करोड ५० लाख रुपैयाँ आन्तरिक स्रोत आम्दानी हुने प्रक्षेपण गरेकी छिन्।

संघीय सरकारबाट १६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेकी छिन्। प्रदेश सरकारबाट सशर्त अनुदान बापत छ करोड ६८ लाख, समपूरक तीन करोड, विशेष अनुदान ५० लाख रुपैयाँ प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख छ।

त्यसैगरी सवारी साधन करको बाँडफाँडबाट दुई करोड ५० लाख तथा संघीय राजश्व बाँडफाँडबाट सात करोड ८४ लाख रुपैयाँ प्राप्त हुने बताइएको छ।
महामारीको रुपमा फैलिएको कोरोना महामारी कोभिड-१९ नियन्त्रणका लागि गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेटमा विपद व्यवस्थापन, स्वरोजगार तथा कृषि र स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ।

इन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा कृषिलाई विशेष जोड दिएको छ । बुधबार अध्यक्ष वंशलाल तामाङद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा खाली रहेको जमिनलाई अधिकतम उपयोगमा ल्याउन भूमि बैकको स्थापना गरिने, व्यावसायिक कृषि उत्पादनमा जोड दिँदै उत्पादित वस्तुहरुको व्यवस्थापन तथा विक्री वितरणका लागि कृषि संकलन केन्द्र तथा ‘एक वडा एक हाट बजार, एक घर पाँच फलफूलका विरुवा, एक घर एक करेसाबारी’को नीति अवलम्बन गरिने साथै सार्वजनिक तथा निजी खाली जग्गामा पुष्पखेती र फलफूल खेतीलाई प्राथमिकता दिइने उल्लेख छ ।

डिजिटल मोबाइल माटो ल्याव स्थापना गरिने, रैथाने कृषि उत्पादन फापर, कोदो, मकै, सखरखण्ड आदिलाई प्रोत्साहन गरिने, इन्द्रावती कोरिडोरमा मास उत्पादनलाई विशेष जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । किसानलाई समयमा नै सुलभ, सहज र सहुलियतपूर्ण बीउबिजन उपलव्ध गराउनका लागि वडा नं. ७ मा प्रदेश सरकारसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण सम्पन्न गरी सञ्चालनको व्यवस्था मिलाइने जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?