Madhyabindu News App
स्थानीय तह

भोकटेकोशी गाउँपालिकाको आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक

Madhyabindu Online

(सिन्धुपाल्चोक) – सिन्धुपाल्चोकको भोकटेकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बुधबार एक कार्यक्रमबाबीच गाउँपालिकाको आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

उपलब्ध प्राकृतिक स्रोत र साधानको उच्चतम प्रयोग गरी उद्योगको विकास,कृषि क्षेत्रको व्यावसायीकरण, बजारीकरण र वैज्ञानिकीकरण, पर्यटन र शिक्षा क्षेत्रको रुपान्तरण गर्ने लक्ष्य गाउँपालिकाको छ । यस्तै, यान्त्रिकरण मार्फत स्वरोजगारमूलक कार्यक्रमलाई बढोत्तरी गर्दै दिगो आर्थिक वृद्धि हासिल गरी जीवनस्तरमा सुधार ल्याउने लक्ष्य गाउँपालिकाको रहेको अध्यक्ष राजकुमार पौडेलले बताए ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा आर्थिक तथा भौति पूर्वाधारको विकास मार्फत सम्मुन्नत र समृद्ध भोटेकोशी निर्माणका लागि विशेष पहल गर्ने जनाएको छ । कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गरी गरिबी न्यूनिकरणका लागि विशेष पहल गर्ने अध्यक्ष पौडेलले बताए ।

गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाका लागि पूर्वाधार निर्माण र जनशक्तिको व्यवस्थापनमा केन्द्रित हुने गाउँपालिकाले जनाएको छ । कोभिड १९ का कारण हस भएको विकास निर्माण तथा उत्पादनलाई पुर्नस्थापना गर्दै कृषि, उद्योग, पर्यटन र निर्माण व्यवसायलाई गति दिन अध्यक्ष पोडेलको भनाई छ ।

यसैबीच नेपाली कांग्रेसले भने भोटेकोसीको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सभा बहिष्कार गरेको छ । कुल पाँच वटा वडा भएको भोटेकोसीमा कांग्रेसले तीन वटा वडा जितेको थियो । आफ्नो कुनैपनी माग सुनुवाइ नभएको र गाउँपालिका अध्यक्ष उपाध्यक्ष ले कर्मचारी सँगको मिलेमतोमा एकलौटी ढंगले बजेट बिनियोजन गरेपछि आफुहरु कार्यक्रम बहिस्कार गर्न बाध्य भएको वडा नं १ का वडा अध्यक्ष मुके शेर्पाले बताए ।

अध्यक्ष शेर्पाका अनुसार गतबर्ष पनि गाउँपालिकामा बजेट राखेर बिकासको बजेट कटौती गरेको थियो भने यसपटक त झन अध्यक्षहरु सँग सल्लाह नै नगरी आफुखुशी बजेट बाँडफाँड गरेकोले बहिष्कार गरिएको हो ।

Tags

छुटाउनु भयो कि ?