Madhyabindu News App
विचार-ब्लग

अबको राजनीतिक दिशा र हाम्रो जिम्मेवारी

Madhyabindu Online

प्रणय राणा
शान्ति प्रकिया सुरु भए यता केही यस्ता राजनीतिक घटनाहरु भएका छन् जसले परिवर्तनकर्ता भनौँदाको ढोंगलाई जनतासामु उजागर गरेको छ। एक पछि अर्को काण्डहरु यति भएछन् कि हामी जनतालाई अब यस्तो अवस्था सामान्य लाग्न थालिसकेको छ। यी काण्डका नाइकेहरुलाई १२ बुँदे समझदारीले यतिसम्म गर्ने छुट दिए ।

कोभिड-१९ जस्ता प्राकृतिक अवस्थाबाट सिर्जना भएका परिस्थिति (न्यु नर्मल) सँग बाँच्न सिक्नु बाहेक अरु विकल्प हुन्न। तर आम नेपालीले भने भ्रष्टाचार र अप्रजातान्त्रिक राजनीतिक क्रियाकलाप जस्ता डरलाग्दा भाइरसलाई पनि सामान्य रुपमा लिँदै आएको देखिन्छ। ‘अलि अलि खाए पनि केही त काम गर्नु!”, ‘२०% खाएर ८०% मात्र पनि काममा लगाए देश कस्तो हुन्थ्यो होला!”- यस्ता धेरै उदाहरण छन् जुन हाम्रो दैनिक चिया गफमा हुने गर्दछन् । हो, यहीं चुक्यौं हामी। राजनीतिक व्यवस्था परिवर्तन गर्नुमा योगदान दिएका वा देश हाँक्ने जिम्मेवारी लिएकै भरमा कसैलाई भ्रष्टाचार वा मनपरी राजनीतिक अभ्यास गर्न छुट हुन्न। तर हाम्रा भनाइले त ती कुराहरुलाई छुट दिइरहेको छ। अझ भनौँ, हामी आफै पनि भ्रष्ट र लाचार छौँ भन्ने देखाइरहेको छ।

कहाँ चुक्यौं त हामी?

हामी निजी स्वार्थमा चुक्यौं।

हामी आवश्यकता अनुसारको भ्रष्टाचार (आड-हक करप्सन) मा निर्भर हुँदै गयौं र त्यसलाई आफ्नो अनुकूल मान्यता दिन थाल्यौं। सिस्टममा त खराबी थियो नै, तर हामी अधिकांशले, बिशेष गरी पहुँचवालाले, सिस्टमलाई उत्तरदायी बनाउनुको साटो त्यही खराबीसँग मिलेर आफ्नो लाभमा प्रयोग गर्न थाल्यौं। आफ्नो अभिभावकले कमाएको कालो धनमा विलासिताका सामाग्री प्रयोग गर्न पाउँदा हामी घमण्ड गर्छौं, अनि साथीभाइ ताली पिट्छन्। सरकारी सेवामा लाइनमा बस्न समेत फुर्सत हुन्न, हामीलाई अनि त्यहाँ पनि बढी पैसा तिरेर या आफन्त/साथी-भाइको पहुँच प्रयोग गरेर आफ्नो काम फत्ते गरेर हामी आफूलाई एलिट देखाउन कदापि पछाडि हट्दैनौं। यसरी निजी स्वार्थका लागि एलिट बन्ने संस्कारले देशलाई कुन दिशामा धकेलिरहेको छ भन्ने कुराको हेक्का नराख्दा हामी चुकिरहेका छौँ।

हामी अलोकतान्त्रिक अभ्यासहरूसँग लड्न चुक्यौं।

महराका काण्डहरुबाट अपरिचित कमै होलान्। म भन्छु, पछिल्लो यौन-काण्ड बाहेक अन्य सबैमा महरा एउटा मोहरा मात्र थिए। चिनियाँ व्यापारीसँग चुनाब जित्नको लागि ५० करोड मागेको उनको फोनबार्ता बाहिर आयो। स्वभाभिक रुपमा उनी माओबादी पार्टीको प्रतिनिधिको हैसियतमा काम गर्दै थिए। शान्ति प्रक्रिया बिथोलिने बहानामा अनेक फितलो तर्कका साथ उनलाई उन्मुक्ति दिएयो। फेरि आयो सुन-तस्करी काण्ड। त्यहाँ पनि महराले आफू यस बिशाल स्किमको एउटा सानो माछा भएको र खोज-तलास अघि बढेमा ठूला-ठूला माछा फेला पर्ने धम्की दिएकै भरमा केस बन्द भयो। देशको लोकतान्त्रिक पद्धतिमाथि घात गर्ने काम र भ्रष्टाचारको बिषयमा अनुसन्धान र कारवाही हुन पर्नेमा उनलाई बिना अनुसन्धान उन्मुक्ति दिइयो, किनभने त्यहाँ नेपथ्यमा रहेका अन्य धेरै पात्रहरु फस्ने थिए। पछिल्लो यौन दुर्ब्यबहारको घटनामा पनि उनलाई राजनीतिक संरक्षणकै भरमा आखिरकार सफाइ मिलिहाल्यो।

प्रचण्डले चितवनको चुनाव बिथोलेर आफ्नो छोरीलाई जिताए। आफ्नो पक्षमा मत नआउने देखेपछि मतपत्र च्यातेर पुनः निर्वाचन गराई आफू अनुकूल नतिजा ल्याउने अभ्यास माओबादी पार्टीको महान भनाउँदो जनयुद्धको आधारभूत सिद्धान्तको बर्खिलाप भएन र? लोकतन्त्रको उपहास यहाँभन्दा कति हुने? तर त्यसले न उनलाई पोल्यो, न हामी जनतालाई नै। स्थापना कालमै लोकतान्त्रिक गणतन्त्रको बलात्कार गरेका यस्ता व्यक्तिबाट नेपाली अनि नेपाली राजनीतिले कहिले छुट्कारा पाउने, त्यो आफैंमा एउटा चुनौती छ।

गोकुल बास्कोटा पनि एउटा प्रिण्टिङ्ग प्रेस मै ७० करोड खान खोज्दा रेकर्डिङ बाहिर आएर राजिनामा दिनु पर्‍यो। कोरोनाको महामारीमा पनि गुणस्तर नभएको भनिएको सामग्री, त्यो पनि अत्यन्तै अनैतिक अभ्यासबाट ओम्नी समूहलाई दिइयो र ब्वापक बिरोधपछि सम्झौता रद्ध भयो, तर दुवैमा सरकारबाट अनुसन्धानको आश्वासन भएपनि कुनै ठोस कदम चालिएको छैन। भन्नलाई त भ्रष्टाचार सम्बन्धि नेपाल सरकारको शून्य सहिष्णुता (Zero Tolerance) नीति भनेर बारम्बार भनिएको छ, तर व्यवहारमा भने भ्रष्टाचार बिरुद्ध उठेकाआवाजलाइ शून्यमा परिणत गर्ने आचरण देखिएको छ।

यस्ता कैयौं उदाहरण छन् जहाँ हाम्रा नेता/प्रतिनिधि भनौँदा र हामी दुवै नराम्रोसँग चुकेका छौँ आ-आफ्नो कर्तब्यमा। आफैले चुनेर पठाएका लाई तर लगाउन नसक्नु हामी जनताकै कमजोरी हो। अब के यस्तै हो भनेरै बस्ने त?

अब के गर्ने ?

आफ्नो आचरण बदल्ने।

कुनै पनि बहानामा भ्रष्टाचारका गतिबिधिलाई टेवा पुर्‍याउने काम नगर्ने। आफ्नो घर-परिवारभित्रै हुने भ्रष्टाचारको छि छि -दुर दुर गर्ने। यो गाह्रो छ। धेरै कुरामा सम्झौता गर्नु पर्नेछ। तर जबसम्म हामी आफ्ना अभिभावक, साथी-भाइ, र परिचित व्यक्तिहरुलाई भ्रष्टाचार बिरुद्ध प्रश्न गर्दैनौं, हामी पुरानै भ्रष्ट खाल्डोमा रहिरहनेछौं।

सचेत राजनीतिक अभ्यासको बिकास गर्ने।

आफ्ना जनप्रतिनिधिलाई हरबखत सचेत गराइराख्ने । यसका लागि टोल, शहर, गाउँ, आदिका क्रियाकलापहरुमा आफ्नो क्षमताअनुसार संलग्न हुने। हामी सबैले आ-आफ्नो रोजीरोटीको काम बाहेक यसरी संलग्न हुन अत्यन्तै जरुरी छ, तब मात्र जनप्रतिनिधि अनि नेताहरु पनि अलि बढी सजग हुनेछन्। आ-आफ्नो गाउँपालिका, नगरपालिकामा के कति बजेट आएको छ, कसरी काम भैराखेको छ, यो बुझ्नु र बुझ्न पाउनु हाम्रो अधिकार हो। यस्ता क्रियाकलापलाई फुर्सतमा मात्र नभई आफ्नो दैनिक दिनचर्यामा राख्न जरुरी छ। यस्ता क्रियाकलापको माध्यमबाट नै लोकतान्त्रिक अभ्यासलाई सन्तुलनमा राख्न सकिन्छ।

अनुसन्धानमूलक संस्कृतिको विकास गर्ने।

फेक-न्युज सुनेको भरमा नउफ्रने र कुनै पनि विषयमा आफ्नो धारणा बनाउनु अघि सुनेको-पढेको खबरलाई भिन्न -भिन्न स्रोतसँग तुलना गरेर समीक्षा गर्ने। गहन अनुसन्धानबाट गरिएको समीक्षालाई जनसमुदायसम्म पुर्‍याउने। यसका लागि सामाजिक सञ्जाल, स्कूल-कलेजका फोरम, र पत्र-पत्रिका मध्यमहरु आदि सदुपयोग गर्ने।

यी केही आधारभूत उदारण हुन् जसको मध्यमबाट हामीमाथि उल्लेखित कुसंस्कारलाई कालान्तरमा परास्त गरी एउटा नयाँ सोसिओ-पोलिटिकल पद्धतिको विकास गर्न सक्छौं। सुन्दा सामान्य लाग्न सक्छ, तर व्यवहारमा लागू गर्न खोजेको घडीबाट हामीलाई यिनले व्यवहारिक चुनौतीहरुसँग परिचित गराउने छन् । तिनै चुनौतीहरुको सामना गर्दै हामी सबैले आफुलाई सुसंस्कृत राजनीतिक अभ्यासमा निखार्न जरुरी हुन्छ। अरुमा मात्र नेतृत्व खोज्ने बानी हटाई आफैँमा एउटा कुशल नेताको विकास गर्न जरुरी हुन्छ। तत्पश्चात मात्र नेपालीले सोचे जस्तो कुशल नेतृत्व कुनैदिन प्राप्त गर्न सक्नेछौं।

देशसञ्चार बाट साभार ।

Tags

छुटाउनु भयो कि ?