Madhyabindu News App
खेलकुद

लिभरपुललाई ३० वर्षपछि प्रिमियर लिगको उपाधि

Madhyabindu Online

(एजेन्सी) – इंग्लिस प्रिमियर लिगको यस वर्षको उपाधि लिभरपुलले जितेको छ । प्रिमियर लिग अन्तर्गत बिहीबार राति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २–१ गोलले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।

च्याम्पियनसिपमा कब्जा जमाउन बिहीबार लिभरपुललाई केबल एक जित आवश्यक थियो । तर म्यानचेस्टर सिटी हारेपछि लिभरपुलको अग्रतामा कसैबाट खतरा भएन । घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे ।

सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । चेल्सीको जितसँगै लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो । लिभरपुलले १९ औं पटक इङ्गलिस प्रिमियर लिगको उपाधि जितिसकेको छ । तर १९८९–९० पछि ऊ पहिलो पटक च्याम्पियन बनेको हो ।

लिभरपुललाई यस सिजन उपाधिका लागि एक जित आवश्यकता रहेको थियो । तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको हो । यदि सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने थियो । चेल्सीसँग पराजित भएपछि सिटी लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ ।

लिभरपुलले लिगमा ८६ अंक बटुलिसकेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ऊ २३ अंकले अगाडि छ । इङ्गलिस प्रिमियर लिगमा दुई टिमबीच यति धेरै अन्तर यसअघि देखिएको थिएन । लिभरपुलले अझै ७ खेल खेल्न बाँकी छ । यति चाँडै उपाधि जित्ने यो आफैंमा रेकर्ड हो ।

साविकको विजेता समेत रहेको सिटीको ६३ अंक रहेको छ । लिभरपुलको ८३ अंक रहेको छ । यस सिजन लिभरपुलले २८ खेलमा जित निकाल्दा २ खेलमा बराबरी र एक खेलमा हार व्यहोरेको छ ।

Tags

छुटाउनु भयो कि ?