Madhyabindu News App
विचार-ब्लग

सरकार हुनु र नहुनुको के अर्थ पिडित परदेशी लाई ?

Madhyabindu Online

चमेली धिताल

समयको परिवर्तन सँगै मानिसको दैनिकी पनी परिवर्तन हुनुलाई सामान्य अर्थमा स्वभाविक रुपमा लिन सकिन्छ । विज्ञानको चमत्कारिक गतिशिलता लाई अंगिकार गर्दै समय सापेक्ष आफुलाई गतिशिल बनाउने क्रममा मानिस नयाँ खोज अनुसन्धान आदि बिषयमा आफ्नो समय व्यतित गरिरहेको हुन्छ । युगको आवश्यकता सँगै आफुलाई समायोजन गर्दै जाने क्रममा सामाजिक रुपान्तरणको नाममा नजाँनिदो ढंगले वर्गिय विभेदको सिर्जना भैरहेको अवस्था अहिले विध्यमान छ ।

निर्वाह मुखि कृषि प्रणालिको भरमा मात्रै जिविका नचल्ने र वैकल्पिक रोजगारिको अवसर प्राप्त नभएकै कारण आज लाखौं नेपाली रोजगारीका नाममा मुलुक बाहिर बस्न बाध्य छन । जुनसुकै ब्यबस्था परिवर्तन भए पनि अथवा  जुनसुकै दल बिषेशले देशको साशन सत्ता सम्हाले पनि समयसँगै भएको र हुने नियमित परिवर्तन बाहेक कसैले केहि गरेको र गर्ने लक्ष्य समेत लिएको देखिँदैन ।

सरकारि तथ्याङ्क अनुसार करिव ६०लाख नेपाली अपाद बाहेक बैदेशिक रोजगारीका नाममा आफ्नो श्रम बेचिरहेका छन । त्यही विप्रेशण नेपालको घर झुपडिमा चुल्हो बाल्ने मात्र नभई समग्र अर्थतन्त्रको खम्बाकै रुपमा रहेको छ । त्यसरी अर्थतन्त्रको भरपर्दो श्रोत अहिले विपदमा परेको बेला सरकारी वेवास्तामा पर्नु अवश्यनै दुखद कुरा हो ।

कोरोना भाईरसको महामारिका कारण विश्वनै आक्रान्त भएको वर्तमान परिप्रेक्ष्यमा नेपालमा जस्तै नेपाल बाहिर पनि बन्दाबन्दी भएकै अवस्था हो । आफ्नो देशमा रहँदा त कम्तिमा खोले फाँडो जे खाएनी अथवा भोकै बसेनी जहान परिवार सँग सँगै बसेर त खाईन्छ ! खानेकुरा केहि नभए पनि भोक सँग माया साटेर त सुतिन्छ। तर परदेशमा त नेपाल छोड्ने बेलामै माया,ममता, स्नेह, दया, करुणा, मानविय समवेदना आदी पाउने भाग्य, थाहै नपाई मातृभुमि सँगै छोडेर आईएको रहेछ । आफ्नै देशमा छोडेर आएको चिज परदेशमा खोज्नु सायद परदेशिकै मुर्खतामा पर्छ होला ।

विधि सम्मत त हाम्रो देशमा पनि सरकार छ । विभिन्न बिषयगत मन्त्री छन । अन्यायमा परेकालाई न्याय दिने अदालत छ । विभिन्न देशमा राजदुतावास वा केहि नाममा सरकारी प्रतिनिधी छन/होलान । तर ति भगवान जस्ता प्रतिनिधी के काम जो छन् भन्ने सुनिन्छ तर अनुभव गर्न पाँईदैन । अहिले चलिरहेको कोरोनाको कहरमा बिचल्लीमा परेका आफ्ना नागरिक जो आफ्नै खर्चमा स्वदेश फर्कन चाहन्छन तिनलाई समेत आफ्नो देश फर्कने ब्यबस्था मिलाउन नसक्ने निकम्मा सरकार हुनु र नहुनुमा के फरक भो र एउटा पिडामा परेको परदेशिको लागी ।

सरकार विपदको बेला पक्कै पनि अफ्ठेरोमा छ जुन अहिलेको अवस्थामा स्वभाविक पनि हो । तथापी परदेशमा टिक्नै नसकेर बिदेश बसाईको अनुमती सकिएर कम्पनी बन्द भएर आदी-ईत्यादी बाध्यात्मक कारणले आफ्नै खर्चमा सरकारले बनाएका सबै निति नियम पालना गर्छु भन्दापनी फर्कन नपाउनुलाई पनि अब भाग्यलाई दोष दिएर बस्नुपर्छ यदी भने एउटा पिडीत परदेशीले कहाँनेर अनुभुती गर्छ नेपाल सरकारको ?

जुनसुकै अभिप्रायले पुगेका भएपनी आफ्ना नागरिकको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी सरकारको होईन ? त्यहिँमाथी सरकारले बनाएको नितिनियमको परिधीभित्र रहेर आफ्नो कर्तब्य पुरागरेका नागरिकको दायित्ववोध नेपाल सरकारले नगरे कस्ले गर्छ ? नेपालमै शिप र क्षमता अनुसारको उपयुक्त रोजगारीको ब्यबस्था गर्न सके को जान्छ परदेश ? परिवारलाई भएपनी कमाएको पैसा त नेपालमै आएको छ आखिर ? फेरी अघीपछी सामान्य अवस्थामा सरकार गुहारेको पनी त छैन नी ? अनी के कति कारणले यती उपेक्षित हुन पुगे परदेशी नेपाली नागरिक ? किन सरकारको प्रागमिकतामा परेनन् पिडित परदेशी ? किन टुटाउने दुश्प्रयास गरियो मातृभुमी प्रतिको अगाध स्नेह ? साथ सहयोग नपाए पनि यि र यस्तै मानविय समवेदना सँग सम्बन्धित प्रश्न हरुको उत्तर पाउने अधिकार त सुरक्षित छ कि सरकार ?

 

Tags

छुटाउनु भयो कि ?