Madhyabindu News App
राजनीति

समसामयिक बिषयमा छलफल गर्न काँग्रेस केन्द्रिय समितिको बैठक मंगलबार बस्ने

Madhyabindu Online

(काठमाडौँ) – प्रमुख प्रतिपक्षी कांग्रेसले मंगलबार दिउँसो १ बजेका लागी केन्द्रिय समितिको बैठक बोलाएको छ । नागरिकता विधेयक र आगामी महाधिवेशनको मितिबारे छलफल गर्नका लागि बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । प्रवक्ता शर्माका अनुसार कोरोनाका बीचमा महाधिवेशनमा कसरी अगाडि बढाउने र नागरिकता विधेयकबारे छलफल गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो ।

यसबीचमा नक्सा प्रकाशन र त्यसलाई लिएर गरिएको संविधान संशोधनका विषयमा सबै राजनीतिक दलहरू गम्भीर भएर एकठाउँमा उभएको अवस्थामा नागरिकता विधेयकले अलगअलग गरेकाले त्यस विषयमा छलफल हुन लागेको शर्माको भनाइ थियो ।

नागरिकता विधेयकको वैवाहिक अंगीकृत नागरिकताको प्रावधानमा कांग्रेससँगै राजपा र समाजवादी पार्टीले पनि असहमति राखेका छन् । उनीहरूले नागरिकता ऐन २०६३ को व्यवस्था कायम राख्नुपर्ने अडान राख्दै आएका छन् । नागरिकता ऐन, २०६३ मा विवाह गरेर आएपछि नेपाली नागरिकता लिन चाहेमा प्राप्त गर्ने लेखिएको छ । अर्कोतिर सत्तारुढ नेकपाले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने अडान लिएको छ । नेकपाले उक्त प्रावधानलाई राज्यव्यवस्थाको बहुमतमार्फत अगाडि बढाएको छ ।

नागरिकता विधेयकले महिला र पुरुषबीच विभेद गरेका विषय पनि उठेका छन् । नेपाली महिलासँग विवाह गरेर नेपालमै बस्न आउने विदेशी पुरुषलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने माग उठेको छ । त्यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक संजाल ट्विटरमा समान व्यवस्था हुनुपर्ने धारणा राखेका छन् ।

 

Tags

छुटाउनु भयो कि ?