Madhyabindu News App
अन्तर्राष्ट्रिय

पाकिस्तानको स्टक एक्सचेन्ज भवनमा गोली चल्यो

Madhyabindu Online

(एजेन्सी) – पाकिस्तान स्टक एक्सचेन्जमा सोमबार बन्धुकधारीहरुले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् ।

मूलढोकामा ग्रिनेड विस्फोट गराएर ती आक्रमणकारीहरू भवनमा प्रवेश गरेको बताइएको छ । कराँचीका प्रहरी प्रमुख गुलाम नबी मेमोनले आक्रमणकारीले ट्रेडिङ स्थलको बाहिर कार ल्याएर राखेका र त्यसपछि ग्रिनेड र बन्दुक प्रहार गरेको जानकारी दिए ।

बलोच लिबरेशन आर्मीले घटनाको जिम्मेवारी लिएको छ । समाचार संस्था एएफपीका अनुसार आक्रमणकारीको गोली लागेर चार जना सुरक्षागार्ड, एक जना प्रहरी र एक व्यक्तिको मृत्यु भएको छ ।

बलोच जातीय समूहहरू छुट्टै देशको माग राखेर लामो समयदेखि विद्रोह गरिरहेका छन् । कराँचीमा अपराध र राजनीतिक तथा जातीय हिंसाबाट प्रताडित रहने गरेको छ ।

राजनीतिक संरक्षणप्राप्त बन्धुकधारीहरुले बेलाबखत विपक्षी नेताहरु तथा आवासीय क्षेत्रमा आक्रमण गर्ने गरेको इतिहास छ। तर, कराँचीको सुरक्षा व्यवस्था पछिल्ला वर्षहरुमा निकै सुधार भएको छ ।

आक्रमणको सुरुमा स्वचालित राइफल बोकेका लडाकुहरूले ग्रिनेड प्रहार गरेका थिए । त्यसपछि उनीहरूले उक्त भवनबाहिर अवस्थित सुरक्षाकर्मीको चौकीमा गोली हाने बीबीसीले उल्लेख गरेको छ ।

Tags

छुटाउनु भयो कि ?