Madhyabindu News App
कला-साहित्य

बेग्लै मानिस हो गुरु !

Madhyabindu Online

डा.रामप्रसाद ज्ञवाली

खोल्छ जीवनका पत्र बाँच्ने कला सिकाउँछ
शिष्यमा ज्ञानका नौलो भोकतिर्खा जगाउँछ
सूचना-ज्ञानमा पूर्ण सिर्जना-ज्ञानमा गुरु
हेर्दा सामान्यझैँ लाग्ने बेग्लै मानिस हो गुरु ।

तर्कमा तथ्यको ज्ञान तथ्यमा ज्ञान बोधको
बोधमा भोगको ज्ञान भोगमा ज्ञान शोधको
अनन्त ज्ञानको यात्रा अनन्त सिर्जना सुरु
हेर्दा सामान्यझैँ लाग्ने बेग्लै मानिस हो गुरु ।

खोल्छ जो मनको आँखा हेर्छ जो दृश्य सुन्दर
फेर्छ जो जिन्दगीलाई सिँच्छ जो प्रेमले घर
गर्छ जो कर्मको यात्रा लोभ गर्दैन जो अरू
हेर्दा सामान्यझैँ लाग्ने बेग्लै मानिस हो गुरु ।

शिष्य जे हो त्यही देख्ने द्रष्टा-चेतन हो गुरु
शिष्यको जिन्दगी फेर्ने स्रष्टा-चेतन हो गुरु
अन्वेषण उसैबाट आविष्कार यहीँ सुरु
हेर्दा सामान्यझैँ लाग्ने बेग्लै मानिस हो गुरु ।

आँखा बन्द गरी हेर नाक बन्द गरी सुँघ
मुख बन्द गरी बोल कान बन्द गरी सुन
बिउमा बिरुवा हुन्छ बिरुवामा ठुलो तरु
हेर्दा सामान्यझैँ लाग्ने बेग्लै मानिस हो गुरु ।

अन्तर्दृष्टि र संसृष्टि योजना परिकल्पना
ज्ञान-विज्ञानको दृष्टि सिर्जना र समर्पण
गन्तव्यको यही बाटो हिँड्ने गर्छ महान् गुरु
हेर्दा सामान्यझैँ लाग्ने बेग्लै मानिस हो गुरु ।

Tags

छुटाउनु भयो कि ?