
हस्ताक्षर !
कामक्षा दाहाल
अक्षर अक्षर मिलेर
शब्दमा परिणत
नामांकरणले सजिएर
कलम घुमाउँदा
प्रमाणित गर्ने
सामर्थ्य बोक्छ
हस्ताक्षर !
हत्यालाई आत्महत्या
निरक्षरलाई साक्षर
गरीबको भोकलाई
धनीको चट्नी
सुकोलाई करोडौंको भर्पाईमा
तीर बनेर तेर्सिन्छ
हस्ताक्षर !!
जवानीलाई बालक
बालकलाई जवानी
नि:सन्तानलाई सन्तान
अनागरिकलाई नागरिक
अंगीकृतलाई बंशज
रक्षकलाई भक्षक
भक्षकलाई संरक्षक
लटरम्म फलेको रुख ढालेर
जरा समेत नाम निशाना
मेटिने गरि उखेलिदिन्छ
हस्ताक्षर !!!
कागजमै पुल,नहर बनिदिन्छ
सिंचाई पोखरी बनिदिन्छ
गोरेटो सडक बन्छ
कच्ची सडक पक्की बनिदिन्छ
खानेपानी योजना सम्पन्न गराईदिन्छ
भत्केको भवन नविकरण गरेर
पुन:निर्माण गरिदिन्छ
ढलनिकास गराई दिन्छ
तटबन्धन बाँधि दिन्छ
वृक्षारोपण गराईदिन्छ
जग्गाधनीको उपस्थिती बिना नै
मालपोतले लालपुर्जा नामसारि गराइदिन्छ
बैङ्कबाट घर जग्गा
लिलाम गराई दिन्छ र
सुकुम्वासी बनाई दिन्छ
डोजरले लालिगुराँस फुल्ने
सुन्दर पाखा पखेरा र बस्ति
पानीको मुहान थलथलाएर
पहिरो चलाई
धनजनको बिनाश गराईदिन्छ
तर
प्यासले छटपटाएकाको मुखमा
जलको थोपासम्म पर्न नपाई
मृत शरीरको नामको भर्पाईले
हिटलरलाई मुस्कानको
सागर ल्याइदिन्छ र
बोल्छ दिगो विकासको
हस्ताक्षर !!!!
स्फष्टिकलाई दबाउन
कालो झोल अनि
दुर्गन्धलाई सुगन्ध
सुगन्धलाई दुर्गन्ध
बनाईदिन्छ
अचम्म त यो छ कि
मौरीलाई सिध्याउन
परजीवीको हुल लगाईदिन्छ
तर
आरक्षणको फाइदा लुट्न भने
करोडपतिलाई कङ्गाल र
साङ्गलाई अपाङ्गता
बनाईदिन्छ हस्ताक्षर !!!!!
बलत्कारीलाई सदाचारी
भ्रष्टचारीलाई बफादारी
चाकडिवाललाई इमान्दारी
तर
कर्तव्यनिष्ठलाई अचानो बनाईदिन्छ
हस्ताक्षर !!!!!
न कुनै हतियारले काट्ने
न गोली बारुदसँग डराउने
भित्रभित्रै किनिन्छ ,बेचिन्छ
हिरा ,मोती भन्दा पनि अमूल्य
कालो धनसँग सजिलै साटिन्छ
तर
गुपचुपमा रहन्छ
हस्ताक्षर !!!!!!
जसको काखमा लडिबुढी गरेर
अधर चुस्दै रमाएको हुन्छ
उनै आमालाई
छाती ,टाउको ,पैताला टुक्राएर
बलत्कार गर् भनि
पराईलाई बेच्न सक्ने अनि
मानवताभित्रको क्रुरतालाई
अधिकारको पर्दा ओढेर
अङ्कुराउनै लाग्दा
छोरी रुपको कोपिलालाई
कोखमै भ्रुूण हत्या गर्न
शक्तिशाली आदेश दिन्छ
हस्ताक्षर !!!!!!!
गरीब रोग, भोक,शोकले
छटपटाईरहँदा
राहतको नामले
पोलेको घाउमा नुनचुक छर्दै
उसैको नाममा
ढुकुटीको अरबौं
सिध्याई दिन्छ
हस्ताक्षर !!!!!!!!
रुप रङ्गविहिन पानीलाई
जस्तो रुप ,रङ्गमा
बदल्न मन लाग्यो
उस्तै रङ्गमा बदलिदिन्छ
जीवितलाई मृत र
मृतलाई जीवित
बनाईदिन्छ
हस्ताक्षर !!!!!!!
दुधको साक्षी बिरालो
कहिले छुचुन्र्दो
कहिले छेपारो
कहिले सलह त
कहिले धमिरो
रुप फेरिरहन्छ
हस्ताक्षर !!!!!!!!!
हिजै अार्यघाटको चितामा जलेर के भो??
आज कागजको पानामा
जीवितै बोलीरहेको हुन्छ
औठाछापको सहिछाप हैन नि!
प्रमाणित हस्ताक्षर !
ओखलढुंगा