खेलकुद

कराते खेलाडीको प्रशिक्षण स्थगित

Madhyabindu Online


A A- A+

काठमाडौं – जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण सरकारले खेलकुद प्रशिक्षण सुरु नगर्ने निर्णय गरेपछि कराते खेलाडीको प्रशिक्षण मङ्गलबारदेखि स्थगित गरिएको हो ।

मुख्य प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षण एक साताका लागि बन्द गरिएको बताएका छन् । खेल क्षेत्रका विभिन्न व्यक्ति कोरोना सङ्क्रमित भएको खबर प्राप्त भएकाले सरकारको निर्देशनको पालना गर्दै प्रशिक्षण हाललाई बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

खेलाडीले ओलम्पिकको तयारीका लागि सातदोबाटो कराते एकेडेमीमा अभ्यास गर्दै आएका थिए । सन् २०२१ को जुलाई २३ तारिखदेखि अगस्ट ८ सम्म टोकियोमा हुने ओलम्पिकका लागि कराते टोलीले असारदेखि अभ्यास गर्दै आएको थियो ।

कोरोनाको महामारीकै कारण १ वर्ष सारिएको ग्रीष्मकालीन ओलम्पिक अर्को वर्ष जापानमा हुँदै छ । त्यसका लागि करातेबाट छनोट प्रतियोगिताका लागि छानिएका दुई खेलाडीलाई राखेपको मौखिक स्वीकृतिमा सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी गत असार ७ देखि सातदोबाटोस्थित कराते एकेडेमीमा प्रशिक्षणमा राखिएको थियो ।

कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि गरिएको लकडाउनका कारण घरेलु खेलकुद गतिविधि ५ महिनादेखि ठप्प प्रायः छ ।

छुटाउनु भयो कि ?