
इजरेल-यूएईबीच ऐतिहासिकु शान्ति सम्झौता
काठमाडौं – इजरेल र संयुक्त अरब इमिरेट्स (युएई) बीच सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौता भएको छ ।
सम्झौता सँगै इजरेल उसले कब्जा गरेको वेस्ट ब्याङ्कका थप भागमा त्यसलाई विस्तार गर्ने विवादास्पद योजना रद्द गर्न सहमत भएको छ । इजरेल र यूएईले उक्त सम्झौतालाई ऐतिहासिक र शान्तिको दिशामा एउटा सफलता भनेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प, इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युएईका क्राउन प्रिन्स मोहमद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै यस ऐतिहासिक सफलताबाट मध्यपूर्वमा शान्ति बढ्ने बताएका छन् ।
सम्झौता भएसँगै अब मध्यपूर्वी एसियामा शान्ति बढ्ने दुई देशका नेतृत्वले विश्वास गरेका छन् । यस्तै वेष्ट बैंकको ठूलो हिस्सा मिलाउने आफ्नो योजना स्थगित गरेको इजरेलले जनाएको छ ।
हालसम्म इजरेलको खाडीका अरब देशहरुसँग कुनै पनि कूटनीतिक सम्बन्ध थिए । यद्यपि खाडी देशबाट अलग अरबका दुई देश जोर्डन र मिस्रसँग भने इजरेलको कूटनीतिक सम्बन्ध छ ।
सन् १९४८ मा इजरेलले स्वतन्त्रता घोषणा गरेयताको यो तेस्रो इजरेल-अरब सम्झौता हो । यसअघि इजरेलसँग इजिप्ट र जोर्डनले यस्तैखाले सम्झौता गरिसकेका छन् ।
उनीहरूले लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य, संस्कृति, पर्यावरण र पारस्परिक दूतावासहरु स्थापनाका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।
“मध्यपूर्वका सबैभन्दा गतिशील समाज र विकसित अर्थतन्त्र भएका दुई देशबीचको प्रत्यक्ष सम्बन्धको सुरुवातले अर्थतन्त्रलाई प्रोत्साहन, प्राविधिक अन्वेषणलाई बढावा र जनस्तरको निकट सम्बन्ध हुनेछ र त्यसले यो क्षेत्रलाई रूपान्तरित गर्नेछ”, संयुक्त वक्तव्यमा भनिएको छ ।
प्यालेस्टिनीहरूले भने यो कदमले आफ्नो भविष्यमा एउटा स्वतन्त्र देश बन्ने आशालाई नष्ट गरिदिने र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने चेतावनी दिएका छन् ।