खेलकुद

सीपीएलमा जमैका तलावाजको तेस्रो हार

Madhyabindu Online


A A- A+

काठमाडौं  – क्यारेबियन प्रेमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज ३६ रनले पराजित भएको छ ।

ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न नसक्दा जमैका तलावाजले सीपीएलमा तेस्रो हार बेहोरेको हो । बार्बाडोस ट्रिडेन्ससँग जमैका पराजित भएको हो । बिहीबार भएको खेलमा जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमात्र जोड्न सक्यो ।

क्रुमा बोनरले ३१ रन र जर्मेन ब्लाकवुडले २८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । बार्बाडोसका स्पिनरहरु राशिद खान र मिचेल सान्टनरले २-२ तथा हेडन वाल्सले १ विकेट लिए । जेसन होल्डर र रेमन राइफरले २-२ विकेट बाँडे ।

जमैकाले सातौं ओभरमा नै ४ विकेट गुमाउँदा मात्र २७ रन जोड्न सकेको थियो । जमैकाका मुजिद उर रेहमानले ३ तथा सन्दीपले २ विकेट लिए । फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक-एक विकेट हात पारे । सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट हात पारेका थिए ।

आजको खेलमा सन्दीपले पनि ब्याटिङ गरेका थिए । उनले ६ बल खेल्दै ४ रन बनाई अविजित रहे । जमैकाले हालसम्म खेलेको ५ खेलमध्ये २ मा जित तथा तीनमा हार बेहोर्दै ४ अङ्क जोडेको छ । जमैका अङ्क तालिकाको पाँचौ स्थानमा छ ।

आजको खेलमा विजयी भएको बार्बाडोस ४ अङ्कसहित रनरेटका आधारमा तेस्रो स्थानमा उक्लिएको छ । उसले ५ खेलमा दुईमा जित तथा तीन खेलमा हार बेहोरेको छ । सन्दीप सम्मिलित जमैकाले आफ्नो छैटौँ खेल भदौ १४ गते खेल्नेछ ।

छुटाउनु भयो कि ?