Madhyabindu News App
शिक्षा

कोरोनाले नछोएको मेलम्चिघ्याङ्ग मावि, जहाँ शैक्षिकसत्रको शुरुदेखिनै पठनपाठन सुचारु छ

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको दुर्गम भनेर चिनिने हेलम्बु गाउँपालिका -१ स्थित मेलम्चीघ्याङ्ग माविले कोरोना महामारीको बिचमा पनी सफलतापुर्वक अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । विगत देखिनै मुलुककै नमुना सामुदायिक विद्यालयको रूपमा चिनिएको यस विद्यालयले बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारण देशभर लकडाउन भएपनी यस बिद्यालयले शैक्षिकसत्रको सुरु देखिनै अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर गौतम बताउँछन् ।

शैक्षिकसत्रको सुरुवात देखिनै नियमित अनलाइन कक्षा सञ्चालन गर्दै आएको मेलम्चीघ्याङ्ग स्कुलका नियमित विद्यार्थीहरुको अनलाइन क्लासमा उत्साहजनक सहभागिता रहेको प्रअ गौतमले जानकारी दिए । अभिभावकले दिएको माया, सद्भाव, साथ सहयोग र शिक्षक साथीहरूको अथक मेहनतका कारण आज मुलुकका अधिकांश सुबिधा सम्पन्न बिद्यालय बन्द रहँदा समेत यो दुर-दराजको बिद्यालय सञ्चालन गर्न सफल भएको प्रअ गौतमले बताए ।

बिहिवार अनलाइन कक्षाको समिक्षा गर्न बिद्यालयले आयोजना गरेको १०० भन्दा बढी अभिभावक सहभागी भर्चुअल बैठकमा बिद्यालयमा सञ्चालित अनलाइन कक्षाको प्रभावकारीताको विषयमा छलफल भएको बिद्यालयका सहायक प्रधानाध्यापक टीका लिम्बुले बताए । उनका अनुसार लकडाउनकै बिचमा मेलम्चिघ्याङ्गका उमेश कोइराला, दावा नुर्बु शेर्पा लगायत अधिकांश शिक्षक-शिक्षीकाहरु बिद्यालयमै पुगेर अध्यापन कार्यमा संलग्न रहेका छन् भने केहिले आफ्नो घरबाटै अध्यापन गराइरहेका छन्

बिद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा कक्षा ९ र १० का ९९ प्रतिशत र अन्य कक्षाका औसत ८० प्रतिशत भन्दा बढी बिद्यार्थी नियमित अनलाइन कक्षामा सहभागी भएको अनलाइन कक्षाको संयोजन गरिरहेका शिक्षक कुमार गौतमले जानकारी दिए ।

बैठकमा सहभागी हुँदै हेलम्बु गाउँपालिका उपाध्यक्ष कोपिला पण्डितले मेलम्चीघ्याङ्ग स्कुलले कोरोनाको महामारीमा पनि अनलाइन कक्षा सञ्चालन गरेर हेलम्बु मात्र नभई जिल्लामानै उदाहरणिय काम गरेको बताइन । उनले गाउँपालिकाका सबै बिद्यालय लाई समेत यो बिद्यालयको अनुसरण गर्दै नियमित पठनपाठन अघी बढाउनका लागि आवश्यक प्रकृया सुरु गरिएको बताइन् ।

बैठकमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पासाङ तेम्बा शेर्पाले काठमाडौंका सम्भ्रान्त कहलिएका बिद्यालयले समेत नियमित अनलाइन कक्षा सञ्चालन गर्न नसकेको वर्तमान अवस्थामा दुर- दराजमा बसेर यो कार्य गर्नु सरकारको लागि समेत चुनौतीको विषय भएको बताए । सामुहिक जिम्मेवारी र इच्छाशक्त्ति भएपछी सबै कुरा सम्भव हुने उनको तर्क थियो ।

भर्चुअल बैठकमा सहभागी अभिभावकले बिद्यालयले चालेको कदम सर्हानिय रहेको भन्दै निरन्तरताको लागी आइपर्ने समस्या समाधानमा सधैँ साथ सहयोग गर्न तयार आफुहरु रहेको बताएका थिए ।

छुटाउनु भयो कि ?